
नव नियुक्त ऊर्जामन्त्री टोपबहादुर रायमाझी र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल सहभागी कार्यक्रम विद्युत् आपूर्ति बन्द हुँदा प्रभावित भएको छ ।
रुपन्देही जिल्लास्तरीय अगुवा कार्यकर्ता भेला आइतवार बुटवलमा आयोजना गरिएको थियो । कार्यक्रमलाई ऊर्जामन्त्री रायमाझी लगायत नेकपाका ओलीपक्षीय नेताहरूले सम्बोधन गरेका थिए ।
मन्त्री रायमाझी बोलेपछि नेकपा स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सम्बोधन गरिरहेको समयमा झ्याप्प बिजुली गयो । बिजुली गएपछि सभाका लागि आयोजना गरिएको साउन्डसिस्टम प्रभावित भयो । बत्ती गएपछि मुख्यमन्त्री पोखरेलको सम्बोधन रोकियो ।
कुलमान घिसिङ विद्युत् प्राधिकरणबाट बाहिरिएपछि पछिल्लो समय देशभर विद्युत् आपूर्तिमा निरन्तर समस्या आइरहेको छ ।
विद्युत् प्राधिकरणले लोडसेडिङ नभएको दाबी गरेपनि राजधानीलगायत देशका विभिन्न स्थानमा बत्ती जाने समस्या देखिएको छ ।
बिजुलीको तार बाँदरले हल्लाएका कारण विद्युत् आपूर्ति केहीबेर बन्द भएको विद्युत् प्राधिकरणका एक कर्मचारीले लोकान्तरलाई जानकारी दिए ।
विद्युत् गएर कार्यक्रम प्रभावित हुने बेला मन्त्री रायमाझीले भने कार्यक्रम स्थल छाडिसकेका थिए ।