
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–माधव नेपाल पक्षले आधिकारिकता दाबीका लागि निर्वाचन आयोगमा दिएको निवेदन फिर्ता गरिदिएको जिकिर दोहोर्याएका छन् ।
यससम्बन्धमा आफूले नभएर मिडियाले झूट बोलेको जिकिर उनले गरे ।
आफू पक्षीय अनेरास्ववियुको भेलालाई आइतवार राजधानीमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने–
निर्वाचन आयोगमा उहाँहरूले १०:३० मा अविश्वासको प्रस्ताव दर्ता गरेका छौं भनेर जानुभएछ, आयोगले तपाईंहरूको यो दाबी नै पुगेन, जानुस् भनेर फर्काइदियो । केपी ओलीले झूट बोल्यो भनेर सञ्चारमाध्यमहरूले झूट बोले । निर्वाचन आयोगले तपाईंहरूको दाबी पुग्यो भनेर भनेकै छैन । अस्तिका दिन मात्र उहाँहरूको दाबी फिर्ता गरिदिएको हो । यदि तपाईंहरूको दाबी छ भने ७ दिनभित्र अर्को पत्र ल्याउनुस् भनेर पठाइदियो ।'
साथै उनले प्रचण्ड-नेपाल पक्षलाई पनि झूट बोल्ने बानी परेको आरोप लगाए ।
'केही मान्छेहरू केन्द्रीय कमिटी बैठकमा आएनन्, सम्पूर्ण सदस्यमध्ये १०/१२ प्रतिशत अनुपस्थित थिए । उनीहरू त निर्वाचन आयोग पुगेर भनेछन्– हामी बहुमत छौं, असली पार्टी हामी हौँ भनेछन् । उनीहरू झूट बोल्ने बानी परेकाहरू हुन्,' प्रधानमन्त्री ओलीले भने ।