
कोरोनाका कारण बढेको भर्चुअल गतिविधिले इन्टरनेट ब्यान्डविथ आयातबापत नेपालबाट बाहिरिने रकम बढेको छ । अघिल्ला वर्षमा वार्षिक औसत दुई अर्ब रुपियाँ ब्यान्डविथ आयातबापत विदेशिने गरेकामा कोरोना सङ्क्रमणयता सात महिनामै त्यसकै हाराहारी पुगेको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार गत २०७६ चैतदेखि २०७७ असोजसम्म एक अर्ब ८२ करोड रुपियाँ ब्यान्डविथ आयातमा खर्च भएको छ । कोरोना सङ्क्रमणका नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाका कारण भर्चुअल गतिविधि बढेको समय पनि यही नै हो ।
जब कि २०७५ चैतदेखि २०७६ असोजसम्म ब्यान्डविथ आयातबापत एक अर्ब १० करोड रुपियाँ नेपालबाट बाहिरिएको छ अर्थात् कोरोना सङ्क्रमणका कारण ब्यान्डविथ आयातबापत करिब ७५ करोड रुपियाँ बढी रकम बाहिरिएको तथ्याङ्कले देखाउँछ ।
कोरोना सङ्क्रमणकै बीच गत असारमा त एकै महिना करिब ६१ करोड रुपियाँको ब्यान्डविथ आयात भएको देखिन्छ । असोजमा मात्रै करिब ४३ करोड रुपियाँको ब्यान्डविथ आयात भएको तथ्याङ्कले देखाउँछ । चैतदेखि असोजसम्म प्रायः सबै महिनामा अघिल्लो वर्षको सोही महिनाको तुलनामा ब्यान्डविथ आयात बढेकै देखिन्छ ।
सुबिसु केवलनेटका प्रमुख कार्यकारी अधिकृत विनय साउदका अनुसार कोरोना सङ्क्रमणका कारण ब्यान्डविथ प्रयोग नै ३५ प्रतिशतले बढेको र सँगै नयाँ ग्राहक पनि थपिने क्रम बढ्दा आयातबापत बाहिरिने रकम बढेको छ । उनका अनुसार खासगरी टिकटकको अधिक प्रयोगले पनि ब्यान्डविथका लागि धेरै खर्च बढेको थियो । “अहिले पनि हाम्रै कम्पनीले मासिक ७० लाखभन्दा बढी यस्तै कन्टेन्टको ब्यान्डविथका लागि खर्चिनुपरेको छ,”
उनले भने।
निषेधाज्ञाका कारण घरमै बस्नुपर्ने बाध्यताबीच युट्युब, टिकटकजस्ता भिडियो कन्टेन्टको अत्यधिक प्रयोग हुँदा इन्टरनेट ट्राफिक बढेपछि सेवा प्रदायकहरूले सकेसम्म कम भिडियो प्रयोग गर्न आग्रह नै गर्नुपरेको थियो । यसबाहेक अनलाइनबाटै पढाइ, बैठक र कार्यालयका कामसमेत हुन थालेपछि इन्टरनेट ब्यान्डविथ आयात बढाउनुपर्ने बाध्यता सेवा प्रदायकलाई थियो । यसबाहेक पब्जीलगायतका भिडियो गेमको अधिक प्रयोगले पनि ब्यान्डविथ व्यवस्थापनमा इन्टरनेट सेवा प्रदायकलाई चाप परेको थियो ।
अधिक अनलाइन गतिविधि बढ्दा इन्टरनेट ब्यान्डविथ मात्र होइन मोबाइल र ल्यापटपको आयात पनि अत्यधिक बढेको भन्सार विभागको तथ्याङ्कले देखाउँछ । विभागकै पछिल्लो तथ्याङ्कअनुसार मङ्सिरसम्म १७ अर्ब ६५ करोड रुपियाँ बराबरको २७ लाख ७३ हजार थान मोबाइल आयात भएको छ । नेपालले यो अवधिसम्म धेरै आयात गरेका वस्तुमध्ये डिजेल र स्टिलपछि मोबाइल तेस्रो स्थानमा छ । त्यस्तै समीक्षा अवधिसम्म दुई अर्ब ६० करोड रुपियाँको ल्यापटप आयात भएको तथ्याङ्कले देखाउँछ ।
नेपालले भारतबाट इन्टरनेटका लागि आवश्यक यस्तो ब्यान्डविथ खरिद गर्दै आएको छ । चीनबाट पनि ब्यान्डविथ ल्याउन आवश्यक पूर्वाधार तयार भइसके पनि त्यो एकदमै न्यून छ । नेपाल टेलिकम र वल्र्डलिङ्क नेपालमा इन्टरनेट ब्यान्डविथ भित्र्याउने मुख्य सेवा प्रदायक हुन् ।
यी कम्पनीले ब्यान्डविथ आयात गरेर अन्य सेवा प्रदायकलाई बिक्री गर्दै आएका छन् । ब्यान्डविथ आयातका लागि सेवा प्रदायकहरूले दूरसञ्चार प्राधिकरणसँग सिफारिसका लागि अनुमति लिनुपर्ने हुन्छ । प्राधिकरणले गरेको सिफारिसका आधारमा नेपाल राष्ट्र बैङ्कले आयातका लागि अनुमति प्रदान गर्छ। गोरखापत्र दैनिकमा विश्वास रेग्मीले खबर लेखेका छन् ।