३० जेठ २०८३, शनिबार

बंगलादेशबाट मल आउन अझै ढिलाइ

पुस २०, २०७७
बंगलादेशबाट मल आउन अझै ढिलाइ
प्रतिकात्मक तस्वीर

बंगलादेशबाट खरीद गरिएको ५० हजार मेट्रिक टन रासायनिक मल ल्याउन ढिलाइ भएको छ । 

पुस २ गते सरकार–सरकारबीच (जीटुजी) मार्फत रासायनिक मल खरीदको सम्झौता भएको १८ दिन बितिसक्दा समेत प्रक्रिया शुरू हुन सकेको छैन । 

सम्झौता गरेर फर्किएको नेपाली टोलीले मल ल्याउने तयारीस्वरूप एलसी (प्रतीतपत्र) खोलेर बंगलादेश पठाइसकेको जनाइएको छ । नेपालका तर्फबाट गर्नुपर्ने सबै प्रक्रिया सकिए पनि बंगलादेशबाट ढिलाइ भएको कृषि सामग्री कम्पनीले जनाएको छ । 

कम्पनीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारी एलसी खोल्ने प्रक्रिया नसकिएका कारण मल ल्याउन अझै केही समय लाग्ने देखिएको बताउँछन् । उनका अनुसार कम्पनीले सिद्धार्थ बैठकमा एलसी खोलेको ड्राफ्ट बंगलादेशलाई पठाइसकेको छ ।

‘हामीले पठाएको एलसी बंगलादेशका अधिकारीले अध्ययन गर्दै गरेको जानकारी आएको छ, उताबाट हुन्छ भनेर पठाउनासाथ रासायनिक मल खरीदको प्रक्रिया शुरू भइहाल्छ,’ उनले भने, ‘हामीले जतिसक्दो छिटो मल ल्याउने तयारीअनुसार काम गरेका छौं तर उताबाट धेरै ढिलाइ हुँदै आएको छ ।’

उनका अनुसार सरकारी प्रक्रिया सकिएको १० दिनमा रेल र सडकमार्ग हुँदै मल खरीद शुरू गरिने छ । बंगलादेशसँग प्रतिमेट्रिक टन २५९.१९५ अमेरिकी डलरमा मल खरीदको सम्झौता भएको भण्डारीले जानकारी दिए । उनका अनुसार कम्पनीबाट रासायनिक मल खरीदको अन्तिम सम्झौता अनुसार बंगलादेशसँग प्रतिमेट्रिक टन १८ डलर कममा सम्झौता भएको छ । 

जीटुजीमार्फत मल ल्याउन गत कात्तिक २४ गते बसेको मन्त्रिपरिषद् बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई स्वीकृति दिएको थियो । मन्त्रालयको निर्देशन अनुसार कम्पनीले मल खरीदको तयारी गरेको थियो ।

तयारीस्वरूप पुस २ गते जीटुजी प्रक्रियामार्फत मल खरीदका लागि कम्पनीका प्रबन्ध सञ्चालक भण्डारी र बंगलादेश केमिकल इन्ड्रस्ट्रिज कर्पोरेसनका अध्यक्ष महम्मद एमिन उल अहसनबीच सम्झौता भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्