
रोटरी ई–क्लव मेडिकोफ्युजन हाइब्रीड नेपालले रुपन्देहीको बुटवलबाट ‘जथाभावी नथुकौँ’ अभियान शुरू गरेको छ ।
थुकले मृत्यु फैलाउँछ भन्ने सन्देश फैलाउन अभियान शुरू गरिएको क्लवका संस्थापक अध्यक्ष डा. सन्तोष पोखरेलले बताए । अभियानको शनिबार बुटवलको ट्राफिक चोकबाट शुभारम्भ गरिएको छ ।
अभियानको शुभारम्भ गर्दै बुटवल उपमहानगरपालिका वडा नं. ४ का वडाध्यक्ष टंकप्रसाद पराजुलीले अभियान निकै सान्दर्भिक भएको बताउँदै यसलाई सफल बनाउन नगरपालिका सहकार्य गर्न सदैव तत्पर रहेको स्पष्ट पारे ।
जथाभावी थुक्दा फोहोर मात्र हुँदैन, थुकले रोग समेत फैलाउँछ । युरोपलगायतका विकशित मुलुकमा जथाभावी थुक्नुलाई दण्डनीय मानिन्छ । तर, हामीकहाँ यो विषयलाई खास महत्व नदिँदा विभिन्न प्रकारका संक्रामक रोगहरु थुककैं कारण फैलिने गरेका छन् ।
एक सय वर्ष अघि युरोपमा स्पेनिस फ्ल्यूको महामारी फैलिँदा गाडी र टोल टोलमा, जथाभाबी नथुकौ । थुकले मृत्यु फैलाउँछ,” भन्ने सूचना टाँस गरिएको थियो । त्यसयता यूरोपतिर कसैले पनि बाटो, पार्कलगायतका सार्वजनिक स्थानमा थुक्दैनन् । तोकिएको ठाउँमा मात्र थुक्ने गरिन्छ ।
त्यहाँ जथाभावी थुक्न नहुने विषय मानव सभ्यता, आनीबानी र व्यवहारसँग जोडिएको छ । नेपाली जनमानसमा समेत यो विषयमा सचेतना बढाउन अभियान शुरू गर्नुपरेको डा. पोखरेलले बताए । उनका अनुसार यो अभियानलाई स्कुल, कलेज हुँदै सबैतिर सञ्चालन गरिनेछ ।
‘अब आजैबाट हामी सबैले जथाभाबी नथुक्ने प्रण गरौं,’ उनले भने, ‘यसो हुँदा मृत्यु फैलिनबाट रोकिन्छ । कोरोना रोग समेत थुकबाटै सर्ने भएकोले अहिलेको अवस्थामा यो अभियान सान्दर्भिक भएको छ ।’
रोटरी ई–क्लव मेडिकोफ्युजन हाइब्रीड नेपालमा चिकित्सक र उनीहरुका पति/पत्नीहरू आवद्ध छन् । ५० जना सदस्यमध्ये ३७ जना चिकित्सक छन् ।