
स्थानीय वायुको प्रभावले आगामी ३ दिन देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली हुने भएको छ ।
आगामी बिहीवारसम्म प्रदेश १, २, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा समेतको सम्भावना छ ।
देशभर सोमवारसम्म मौसम सफा भई राम्रोसँग घाम लागेकाले अपराह्न अधिकतम तापक्रम वृद्धि भई गर्मी महसूस भएको थियो । अब स्थानीय वायुको प्रभावले अपराह्न अधिकतम तापक्रम कम भई चिसो अनुभव हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
तत्कालै ठूलो पानी पर्ने सम्भावना भने नरहेको मौसमविद् प्रतिभा मानन्धरले बताइन् ।
पानी पार्ने उल्लेखनीय मौसमी प्रणाली देशभर नै नरहेको विभागले जनाएको छ । काठमाडौं उपत्यकाको सोमवारको अधिकतम तापक्रम २३ दशकमव ७ डिग्री रहेकामा मंगलवार २१ दशमलव ८ डिग्री सेल्सियस छ ।
हाल देशको पहाडी भूभागमा आंशिक बदली छ । प्रदेश १, २, बागमती र गण्डकी प्रदेशमा अपराह्न आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षाको समेत सम्भावनाका साथै तराईका भूभागमा बाक्लो हुस्सु कुहिराको सम्भावना रहेको बताइएको छ ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार मंगलवार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३ दशमलव ९ डिग्री छ । मंगलवार सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ३ दशमलव ६ डिग्री र सबैभन्दा धेरै सिमराको न्यूनतम तापक्रम १३ दशमलव ६ डिग्री सेल्सियस छ ।