
नेपाल–भारत संयुक्त आयोगको बैठक नयाँ दिल्लीमा बिहीवार शुरू हुने भएको छ ।
३ दिन चल्ने बैठकमा नेपाली टोलीको नेतृत्व गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली माघ १ गते बिहीवार नै भारत प्रस्थान गर्नेछन् ।
२ देशका विदेशमन्त्रीले संयुक्त रूपमा अध्यक्षता गर्ने संयुक्त आयोगको यो बैठक छैटौं हो । पाँचौं बैठक काठमाडौंमा सन् २०१९ मा बसेको थियो ।
नेपाल–भारत द्विपक्षीय सम्बन्धलाई थप उचाइमा पुर्याउने तथा आपसी हितका विषय बैठकको कार्यसूची तय गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्रालयका अनुसार बैठकमा २ देशबीचको व्यापार, पारवहन विस्तार, ऊर्जा तथा जलाधार क्षेत्रमा भएका विकासका प्रगति तथा आगामी परियोजना, सीमा विवाद, पूर्वाधार विकासमा साझेदारी, २ देशीय सम्पर्क सञ्जाल विस्तार मुख्य कार्यसूची रहने छन् ।
त्यसैगरी लगानीमैत्री सहकार्य, कृषिमा दुईपक्षीय सहयोग, पर्यटनमा साझेदारी तथा २ देशबीचको सांस्कृतिक सहकार्य लगायतका अन्य कार्यसूची रहेको मन्त्रालयले मंगलवार जारी गरेको वक्तव्यमा उल्लेख छ ।
कोभिड–१९ को महामारी नियन्त्रणका लागि भारतले यसअघि गर्दै आएको सहयोगलाई विस्तार गर्दै त्यहाँ निर्मित खोप नेपालका लागि उपलब्ध गराउने विषय पनि एक महत्त्वपूर्ण कार्यसूची रहेकाले यस विषयमा थप समझदारी हुने अपेक्षा गरिएको छ ।
पाँचौं बैठकमा छलफल र सम्झौता भएका विषयको थप प्रगतिको समीक्षाका साथै बाँकी रहेका कामलाई मार्गदर्शन गर्ने कार्यसूची पनि बैठकको छ । नेपाललाई समुद्रसँगको पहुँच र आन्तरिक जलमार्गको उपयोग, प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन, पञ्चेश्वर परियोजना कार्यान्वयन, सीमा विवाद समाधान पनि यो बैठकमा छलफल हुने जनाइएको छ ।
मन्त्री ज्ञवालीको नेतृत्वमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्र सचिव भरतराज पौड्याल, स्वास्थ्य सचिव लक्ष्मण अर्याल, भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्य तथा अन्य सरकारी उच्चाधिकारी रहनेछन् । मन्त्री ज्ञवाली ३ दिने भारत बसाइपछि माघ ३ गते साँझ स्वदेश फर्कने कार्यक्रम छ ।
दिल्लीमा रहँदा परराष्ट्रमन्त्री ज्ञवालीले भारतका उच्चस्तरीय नेतृत्वसँग भेटवार्ता गर्नेछन् । सो क्रममा नेपाल र भारतबीचको सम्बन्धलाई थप उचाइमा पुर्याउन आवश्यक परामर्श हुने मन्त्रालयले जनाएको छ । गोरखापत्र दैनिकमा खबर छ ।