
संखुवासभाको चिचिला गाउँपालिकामा बोन्पो गुरुङ लामाको संरक्षणका लागि ५ लाख रुपैयाँको अक्षय कोष स्थापना गरिएको छ ।
बोन्पो लामाको संस्कृति लोप हुँदै गएकाले संरक्षण लागि विभिन्न व्यक्ति र संस्थाले ५ लाख रुपैयाँको अक्षय कोष स्थापना भएको छ ।
बोन्पो लामाको संरक्षणका लागि पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) हेमबहादुर गुरुङले १ लाख कोष स्थापना गरेका छन् । चिचिलामा भएको कार्यक्रममा पूर्व आईजीपी गुरुङले मातापिताको नाममा १ लाख रुपैयाँको चेक तमु प्ये ल्हुँ संघ संखुवासभाका अध्यक्ष गोवद्र्धन गुरुङलाई हस्तान्तरण गरेका छन् ।
उनले गुरुङहरूले आफ्नो जातीय कर्मकाण्ड गर्ने खेगीहरू संरक्षण गर्न आवश्यक रहेको समेत बताए ।
संघ युकेबाट ३ लाख रुपैयाँ र हङकङबाट १ लाख रुपैयाँ गरी ५ लाखको अक्षय कोष स्थापना भएको छ । त्यसका साथै कार्यक्रममा तमु सांस्कृतिक प्रतिष्ठान नेपालद्वारा छात्रवृत्ति समेत वितरण गरिएको थियो ।
तमू प्ये ल्हुँ संघले सनातन र परापूर्वकालदेखि गुरुङ जातिहरूले मनाउँदै आएका धर्मसंस्कार, संस्कृति संरक्षण र जगेर्ना गर्ने काम गर्दै आएको छ । सोहीअनुसार उनीहरूले संखुवासभाको चिचिला गाउँपालिका अन्तर्गत मत्स्यपोखरी, पोखरीगाउँ, माङमाया र ध्वजेलगायत स्थानमा रहेका बोन्पो लामाहरूको संरक्षणका लागि विभिन्न काम गर्दै आएको छ ।
चिचिला गाउँपालिकाका अध्यक्ष पासाङ नुर्बु शेर्पाले सबै जातजातिको जातीय संस्कार, संस्कृतिको संरक्षण गर्न चालिएको कदममा गाउँपालिकाले सक्दो सहयोग गर्ने बताए । उनले गएको तमु जातिको ल्होसार पर्व मनाउन पालिकाले २ लाख ५० हजार विनियोजन गरेको बताउँदै सबै जातजातिको संरक्षण, संवद्र्धन र आवश्यकताअनुसार काम गर्न सदैव सहकार्य गर्ने उनको भनाइ छ ।
कार्यक्रमा संखुवासभामा गुरुङ जातिका खेगी गुरुहरूलाई सम्मान गरिएको छ । चिचिला गाउँपालिका–१ पोखरीगाउँमा जिल्ला कार्यसमिति आयोजनामा लामा गुरुहरूलाई सम्मान गरिएको हो । गत कात्तिक महिनादेखि पुस दोस्रो हप्तासम्म करीब ३ महिना गुफा बसेर निस्किएका ५ नयाँ लामासहित लामो समयदेखि पुरोहित लामा पेशालाई नै निरन्तरता दिँदै आएका ५ पुराना लामागुरु गरी १० जनालाई सम्मान गरिएको थियो ।