
गोकर्णेश्वर नगरपालिकाका १६ सामुदायिक विद्यालयमा ३ कक्षासम्म अध्ययनरत विद्यार्थीलाई निःशुल्क पुस्तक वितरण गरिएको छ ।
समाजसेवीत्रय दीपकुमार भण्डारी, डा. लक्ष्मण आचार्य र धनप्रसाद लामिछानेको पहलमा नगरपालिकामा रहेका १६ सामुदायिक विद्यालयलाई पुस्तक हस्तान्तरण गरिएको होे ।
हस्तान्तरणका अवसरमा समाजसेवीत्रयले एक स्वरमा सानै कक्षाबाट पठनपाठन संस्कृति शुरू गरिए मात्र त्यसको दीर्घकालीन प्रभाव पर्ने धारणा राखे । करीब ६ लाखको लागतमा ३ कक्षासम्मका विद्यार्थीका लागि कक्षा कोठामा नै राख्ने गरी जीवनोपयोगी पुस्तक उपलब्ध गराइएको समाजसेवी भण्डारीले बताए । विज्ञबाट छानिएका पुस्तकको अध्ययनसँगै स–साना विद्यार्थीको जीवनमा सकारात्मक परिवर्तन आउनेमा आफू आशावादी रहेको उनको भनाइ थियो ।
शिक्षाविद् समेत रहेका डा. आचार्यले विद्यार्थीमा पठन संस्कृति बढाउनका लागि शिक्षक शिक्षिकाको इमान्दार प्रयास उत्तिकै जरुरी रहेको बताए । विद्यार्थीको स्तरअनुसारको पुस्तक पढ्न दिनुपर्नेमा अहिलेसम्म त्यसो हुन नसकेको आचार्यको भनाइ थियो ।
अर्का समाजसेवी लामिछानेले शैक्षिकस्तरको अभिवृद्धि विना समृद्ध समाजको परिकल्पना गर्नै नसकिने बताए ।
नगरपालिकामा मंगलवार आयोजित कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोेष चालिसे, उपप्रमुख शान्ति नेपाल, शिक्षा शाखा प्रमुख विजयप्रसाद आचार्य लगायतले विद्यार्थीमा पठन संस्कृति हराउँदै गएकोमा चिन्ता व्यक्त गरे ।
सामुदायिक विद्यालयबाट शुरू गरिएको अभियान फलदायी हुनेमा आफूहरू आशावादी रहेको समाजसेवीत्रयको विश्वास छ । सहयोगी मन सामुदायिक अध्ययन केन्द्रको संयोजकत्वमा भएको कार्यक्रम नगरपालिकाले आयोजना गरेको हो ।