आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनीको ब्रान्ड एम्बेसडरमा देश तथा विदेशमा ख्याति प्राप्त नेपाली सेलिब्रिटी नायिका मनिषा कोइराला नियुक्त भएकी छिन् ।
यससँगै अब कोइराला आई.एम.ई. लाइफको जीवन बीमाको ब्राण्ड दूतको भूमिकामा रहनेछिन् ।
काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँल र नायिका मनिषा कोइरालाले सम्झौतामा हस्ताक्षर गरेका छन् ।
अग्रणी एवं जीवन्त सेलिब्रिटी कोइरालाले आई.एम.ई. लाइफको ब्राण्ड तथा यसको मूल्य एवं मान्यतालाई सशक्त प्रतिनिधित्व गर्ने कम्पनीको विश्वास छ ।
मानव जगतमा जीवन बीमाको महत्त्व निकै ठूलो छ । नेपाली जनतालाई आर्थिक सुरक्षा प्रदान गरी देशैभरि छरिएर रहेको पूँजी एकीकृत गरी राष्ट्र निर्माणमा टेवा पुर्याउने अवधारणा बोकेको आई.एम.ई. लाइफसँग साझेदारी गर्न पाउँदा खुशी रहेको कोइरालाले बताइन् ।
उनले कम्पनीको उत्तरोत्तर प्रगतिमा आफूले उत्कृष्ट भूमिका निर्वाह गर्ने विश्वास समेत दिलाइन् ।
कोइरालासँग सहकार्यको घोषणा गर्दै आई.एम.ई. लाइफका सीईओ कवि फुयाँलले भने– ‘मनिषा कोइरालासँग सहकार्य गर्न पाउँदा हामी धेरै उत्साहित छौं । उहाँ दृढ विश्वासी, क्षमतावान, प्रेरणाको स्रोत, भरोसायोग्य, अग्रणी, सरल, आत्मविश्वासले भरिएको तथा हरेक नेपालीका लागि आदर्श हुनुहुन्छ, जुन यो सहकार्यको भित्री अभिप्राय हो । आई.एम.ई. लाइफ परिवारमा उहाँलाई स्वागत गर्न पाउँदा हामी खुशी छौं ।’
देशभरका जनतामा जीवन बीमाको बारेमा जागरूकताका साथै कम्पनीको ब्राण्ड निर्माण गर्न र ग्राहकहरूको विश्वास लिन सहयोग पुर्याउने कम्पनीले जनाएको छ ।
यो सम्झौता २०७७ पुस २४ गतेबाट लागू हुनेगरी हस्ताक्षर गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले जानकारी दिए ।
त्यसैगरि डिजिटल प्रविधिमार्फत सेवा उपलब्ध गर्ने क्रममा ‘IME साथ bot’ नामबाट विश्वका कुनै पनि कुनाबाट कम्पनीका सेवा सम्बन्धमा जानकारी लिनसक्ने र अनुरोध समेत पठाउन सक्ने गरी निर्माण गरिएको chatbot प्रणाली समेत औपचारिक रूपमा सञ्चालनमा ल्याएको फुयाँलले जानकारी दिए ।