अमेरिकामा जो बाइडन राष्ट्रपति बन्नै लाग्दा बहालवाला राष्ट्रपति डोनल्ड ट्रम्प भने एकपछि अर्को बेइज्जती सहँदै बसिरहेका छन् ।
यसैबीच अमेरिकाको परराष्ट्र मन्त्रालयको वेबसाइटमा सोमवारको एक अप्डेटले संसारभरि तहल्का मच्चाएको छ ।
वेबसाइटमा राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति माइक पेन्सको कार्यकाल सकिएको र उनीहरूले राजीनामा दिएको भनी लेखिएको छ ।
आफूविरुद्ध दोस्रोपटक महाभियोग लागेपछि ट्रम्पले त्यसलाई बकवास भनिरहेको बेलामा मन्त्रालयको वेबसाइटमा गलत अप्डेट भएको हो ।
बहालवाला राष्ट्रपति र उपराष्ट्रपतिको प्रोफाइलमा जनवरी ११ मा दुवैको कार्यकाल सकिएको भनी लेखिएको थियो ।
परराष्ट्र मन्त्रालयको कुनै असन्तुष्ट कर्मचारीले यस्तो उपद्रो गरेको भनी अमेरिकी सञ्चारमाध्यमले लेखेका छन् ।
ट्रम्पले राजीनामा दिएका छैनन् र उनको कार्यकाल अर्को साता जनवरी २० मा सकिँदैछ ।
तर अप्डेट आएपछि सामाजिक सञ्जालमा भाइरल भयो । केही मानिसले यो सत्ता हस्तान्तरणको एक प्रक्रिया भएको तर नौ दिनअगाडिकै मितिमा कुनै कर्मचारीले जानीबुझी यसलाई लाइभ गरिदिएको हुनसक्ने बताए ।
ट्रम्पले आफूलाई धाँधली गरेर चुनावमा हराइएको भन्दै लामो समय प्रतिकार गरे पनि बाइडनलाई शान्तिपूर्ण तरिकाले सत्ता हस्तान्तरण गर्ने बताएका छन् ।
उनीविरुद्ध संविधानको २५औं संशोधन लागू गरी पदबाट हटाउन माग गरिएको भए पनि उपराष्ट्रपति पेन्सले मानेनन् । यस्तो अवस्थामा ट्रम्पले कार्यकाल पूरा गर्नेछन् ।