२७ असार २०८३, शनिबार

हाम्रो ठाउँमा जन्मे हुर्केको योगलाई मोदीजीले अन्तर्राष्ट्रियकरण गर्नुभयो– प्रधानमन्त्री ओली

हाम्रो ठाउँमा जन्मे हुर्केको योगलाई मोदीजीले अन्तर्राष्ट्रियकरण गर्नुभयो– प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले योगको शुरूआत १५ हजार वर्षअघि नेपालबाट भएको बताएका छन् । 

योगलाई अन्तर्राष्ट्रियकरण गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष भूमिका रहेको पनि उनले स्मरण गरे । 

छैटौं राष्ट्रिय योग दिवसको अवसरमा बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले आदियोगी भगवान् शिवले पहिलोपल्ट लगभग १५ हजार वर्षअगाडि यसै भूमिबाट योगको आरम्भ गरेको बताएका हुन् । 

‘योग यस भूमिको उपज हो, हामी यसलाई आदि योगभूमि भन्छौ, आदि योगगुरु, आदि योगी शिवले यसै भूमिबाट हजारौं वर्षअघि योगको अभ्यास, चिन्तन र दर्शन गर्नुभएको थियो,’ ओलीले अगाडि भने, ‘प्रमाणहरू त भेटिँदैनन् तर लगभग १५ हजार वर्ष अगाडि शुरू भएको थियो भन्ने कुराको विश्वास गरिन्छ ।’ 

बृहत्तर भारतवर्षमा नेपाल देशको बारेमा उल्लेख भएको र शिवले पाशुपत क्षेत्र, मृगस्थली, गुह्येश्वरी, चन्द्रागिरी क्षेत्रमा योगको आरम्भ गर्नुभएको विश्वास गरिने प्रधानमन्त्री ओलीले बताए । 

‘पहिलोपल्ट शिवले आफूसँग योगसम्बन्धी ज्ञान प्राप्त गर्न खोज्ने सप्तऋषिलाई अगाडि राखेर योगशिक्षा प्रदान गर्न शुरू गर्नुभएको थियो । कुन दिन शुरू गर्ने भन्दा सबभन्दा लामो दिन –अहिलेको २१ जुन (सूर्य दक्षिणायन लाग्ने दिन) मा शिवले आफ्ना शिष्यलाई योग ज्ञान दिन शुरू गर्नुभयो । दक्षिणायन लाग्ने दिनलाई अहिले संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालेको छ,’ ओलीले भने, ‘शिव सभ्यताबाट जनक सभ्यता हुँदै, बुद्ध सभ्यता हुँदै पतञ्जलि हुँदै आएर हामी अन्तर्राष्ट्रिय योग दिवस मनाइरहेका छौं ।’

ओलीले योगलाई अन्तर्राष्ट्रियकरण गर्नमा भारतीय प्रधानमन्त्री मोदीको विशेष भूमिका रहेको बताए । 

‘मोदीजीले विशेष पहल गर्नुभयो, हाम्रो ठाउँमा जन्मेको हुर्केको योगलाई अन्तराष्ट्रियकरण गर्न । यसमा हाम्रो पनि योगदान रहेको छ । यसको इतिहास कपिलवस्तुका कपिलमुनि, कपिलवस्तुकै सिद्धार्थ गौतम र अर्घाखाँचीका

महर्षि पतञ्जलिसँग नाता जोडिएको छ,’ ओलीले भने, ‘अन्तर्राष्ट्रिय योग दिवस मोदीजीले प्रस्ताव गर्नुभएको थियो, यद्यपि भारतीय प्रधानमन्त्रीको रूपमा उभिएर । मोदीजीले त्यहाँ उभिँदा योगभूमिको प्रतिनिधिको रूपमा उभिएको मान्नुपर्दछ ।’  

salt training

कमेन्ट गर्नुहोस्