०२ साउन २०८३, शनिबार

सेमिफाइनलअघि यामलको चेतावनी- फ्रान्स स्पेनसँग डराउनुपर्छ

असार २७, २०८३
काठमाडौं
सेमिफाइनलअघि यामलको चेतावनी- फ्रान्स स्पेनसँग डराउनुपर्छ

विश्वकपको बहुप्रतीक्षित सेमिफाइनल भिडन्तअघि स्पेनका युवा स्टार लामिन यामलले फ्रान्स स्पेनसँग डराउनुपर्ने बताएका छन् । आगामी मंगलबार यी दुई युरोपेली महारथी टोली फाइनल प्रवेशका लागि मैदान उत्रँदै छन्।

शुक्रबार सोफाइ स्टेडियममा भएको क्वार्टरफाइनल खेलमा बेल्जियमलाई २–१ ले पराजित गर्दै स्पेन सन् २०१० पछि पहिलो पटक विश्वकपको सेमिफाइनलमा पुगेको हो । खेलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै १९ वर्ष पुग्नै लागेका सनसनीपूर्ण खेलाडी यामालले भने, 'मेरो विचारमा, यदि फ्रान्सले कसैसँग डराउनुपर्छ भने त्यो हामीसँग हो । किनभने यसअघि पनि उनीहरूलाई बाहिर निकाल्ने हामी नै थियौँ।'

स्पेनले सन् २०२४ को युरोपेली च्याम्पियनसिप (युरो कप) को सेमिफाइनल र गत वर्षको नेसन्स लिगमा पनि फ्रान्सलाई पराजित गरेको थियो । युरो कपमा गोल गर्दै यामल उक्त महादेशीय प्रतियोगितामा गोल गर्ने सबैभन्दा युवा खेलाडी बनेका थिए ।

बेल्जियमविरुद्धको खेलमा ‘म्यान अफ द म्याच’ चुनिएका यामलले थपे, 'हामी कसैसँग डराउँदैनौँ। यो स्पष्ट छ कि हामी दुवै उत्कृष्ट टोली हौँ, विश्वस्तरीय राष्ट्रिय टोली हौँ र मेरा लागि उनीहरू (फ्रान्स) सर्वश्रेष्ठमध्ये एक हुन्। अब खेलमा के हुन्छ, हेरौँ।'

क्वार्टरफाइनलमा वैकल्पिक खेलाडीका रूपमा मैदान छिरेका मिकेल मेरिनोले ८८औँ मिनेटमा निर्णायक गोल गरेपछि स्पेनले अन्तिम चारको यात्रा तय गरेको हो । विश्वकपमा स्पेनले पहिलो हाफको अन्त्यतिर बेल्जियमविरुद्ध मात्र एक गोल खाएको छ, जुन उसको यो प्रतियोगिताकै पहिलो गोल हो । अर्कोतर्फ, फ्रान्सले यस विश्वकपका ६ खेलमा १६ गोल गरिसकेको छ।

फ्रान्सले यसअघिका लगातार दुई विश्वकपको फाइनल खेलेको छ, जसमध्ये २०१८ मा उसले उपाधि जितेको थियो। स्पेन भने इतिहासमा एक पटक मात्र विश्वकपको फाइनलमा पुगेको छ। यद्यपि, वर्तमान स्पेनिस टोली मार्च २०२३ यता लगातार ३७ खेलमा अपराजित छ।

salt training

कमेन्ट गर्नुहोस्