२२ जेठ २०८३, शुक्रबार
नेकपा विभाजन

नेकपा विभाजनले पेचिलो बन्यो गुल्मीको राजनीति– प्रदीप ज्ञवाली र गोकर्ण विष्ट कसको शक्ति कति ?

माघ १, २०७७
नेकपा विभाजनले पेचिलो बन्यो गुल्मीको राजनीति– प्रदीप ज्ञवाली र गोकर्ण विष्ट कसको शक्ति कति ?

नेकपाका प्रभावशाली र जनतामाझ लोकप्रिय दुई नेता प्रदीप ज्ञवाली र गोकर्ण विष्टको गृह जिल्ला हो, गुल्मी । प्रतिनिधि सभा विघटनपछि विभाजन भएको नेकपामा अहिले यी दुई नेता दुईतिर लागेका छन् ।

ज्ञवाली नेकपा (ओली समूह) र विष्ट नेकपा (प्रचण्ड–नेपाल) समूहमा छन् । पूर्व एमाले पृष्ठभूमिका यी दुई नेता दुईतिर लाग्दा गुल्मीको राजनीति पेचिलो बनेको छ ।

ज्ञवाली क्षेत्र नम्बर १ र विष्ट क्षेत्र नम्बर २ बाट चुनाव लड्ने भएकाले यी दुईबीच सिधा चुनावी भिडन्त हुने देखिन्न, तर जिल्लाको राजनीतिमा यी दुईजना दुईतिर हुँदा ठूलै प्रभाव परेको अवस्था छ ।

परराष्ट्रमन्त्री समेत रहेका ज्ञवाली प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र हुन् । त्यस्तै पूर्व मन्त्री विष्ट पूर्व प्रधानमन्त्री एवं नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधव नेपाल खेमामा छन् । ज्ञवालीलाई त ओलीले नेकपा विभाजनपछि आफ्नो समूहको प्रवक्ताको जिम्मेवारी दिइसकेका छन् ।  

ज्ञवाली र विष्ट दुवै विघटित प्रतिनिधि सभाका प्रत्यक्ष निर्वाचित सांसद हुन् । प्रतिनिधि सभामा समानुपातिकबाट प्रतिनिधित्व गर्ने मैना भण्डारी ओली पक्षमा खुलेकी छिन् भने गुल्मीबाटै राजनीतिमा स्थापित भएकी रामकुमारी झाँक्री प्रचण्ड–नेपाल समूहमा छिन् ।

अखिलको पूर्व अध्यक्ष समेत रहेकी झाँक्री अहिले देशव्यापी रूपमा पार्टीमा भेला र प्रशिक्षणमा सक्रिय छिन् । उनले प्रधानमन्त्री ओलीविरुद्ध आक्रामक अभिव्यक्ति दिने गरेकी छिन् । 

प्रदेश सभा, प्रदेश कमिटी, जिल्ला कमिटी र स्थानीय तहमा भने बहुमत सदस्य प्रचण्ड नेपाल समूहमा खुलेका छन् । 

प्रदीप ज्ञवाली बौद्धिक र केन्द्रमा राम्रो प्रभाव जमाएको नेता भए पनि गुल्मीमा गोकर्ण विष्टको लोकप्रियता उनीभन्दा माथि देखिन्छ ।

त्यसको संकेत २०७४ सालको प्रतिनिधि सभा निर्वाचनको परिणामबाट पनि मिल्छ । २०७४ को निर्वाचनमा माओवादीसँग समीकरण गरेर निर्वाचनमा जाँदा ज्ञवालीले २ हजार मतान्तरले कांग्रेसका युवा नेता चन्द्र भण्डारीलाई पराजित गरेका थिए भने विष्टको मतान्तर १५ हजार थियो । 

नेकपा विभाजित अवस्थामै चुनावमा गए गुल्मीमा बढी असर ज्ञवालीलाई पर्ने विश्लेषण कार्यकर्ताहरूले गर्न थालेका छन् । ओली पक्षमा लागेका नेताहरूको दाबी भने आफूहरू कमजोर नरहेको भन्ने छ ।

प्रदेश सांसदहरू को कता ?

लुम्बिनी प्रदेश सभामा गुल्मीबाट पाँचजना सांसदको प्रतिनिधित्व छ । तीमध्ये ४ जना प्रत्यक्ष र १ जना समानुपातिक हुन् । क्षेत्र नम्बर १ बाट (प्रदीप ज्ञवालीको क्षेत्र) बाट प्रदेश सभामा निर्वाचित कमलराज श्रेष्ठ ओली समूहमा र अर्का सांसद तथा लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बराल प्रचण्ड–नेपाल समूहतर्फ छन् । श्रेष्ठ माधव नेपालनिकट नेता मानिए पनि नेकपा विभाजनपछि उनी ओली समूहतर्फ खुलेका हुन् । त्यस्तै बराल पूर्व माओवादी हुन् ।

त्यस्तै क्षेत्र नम्बर २ (विष्टको क्षेत्र) बाट खड्ग केसी ओली समूह र दिनेश पन्थी प्रचण्ड समूहतर्फ लागेका छन् । केसी पूर्व एमाले हुन् भने पन्थी पूर्व माओवादी हुन् । गुल्मीमा समानुपातिकतर्फ प्रतिनिधित्व गर्ने अर्की महिला सांसद गीता थापा प्रचण्ड–नेपाल समूहतर्फ खुलेकी छन् । थापा पूर्व माओवादी हुन् । 

८ स्थानीय तहमध्ये ७ प्रमुख/उपप्रमुख प्रचण्ड नेपालतिर 

गुल्मीमा १२ वटा स्थानीय तहमध्ये ८ वटामा तत्कालीन एमाले र माओवादीले विजय हासिल गरेका थिए, जसलाई विभाजनअघिको नेकपा मान्न सकिन्छ । नेकपा विभाजनसँगै स्थानीय तहमा प्रमुख र उपप्रमुख पनि खुल्न थालेका छन् ।

मदाने गाउँपालिकाका अध्यक्ष दानबहादुर केसी र उपाध्यक्ष रीता खड्का, इस्मा गाउँपालिकाका अध्यक्ष लक्ष्मण विष्ट र उपाध्यक्ष बिमला केसी, मालिका गाउँपालिकाका अध्यक्ष रितबहादुर थापा र उपाध्यक्ष देवा अर्याल, धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेल, रेसुङ्गा नगरपालिकाका प्रमुख डिल्लीराज भुसाल र उपप्रमुख सीता भण्डारी, मुसिकोट नगरपालिकाका प्रमुख सोमनाथ सापकोटा र उपप्रमुख कमला शर्मा, रूरू गाउँपालिकाका अध्यक्ष नीलकण्ठ गौतम र उपप्रमुख लक्ष्मी पन्त प्रचण्ड–नेपाल समूहमा लागेका छन् ।  

यद्यपि सूर्य चिह्न र पार्टी आधिकारिकताको टुंगो लाग्दा यसमा तलमाथि हुने सम्भावना भने देखिन्छ । 

छत्रकोट गाउँपालिका अध्यक्ष मधुकृष्ण पन्थ र उपप्रमुख नर्मदा भण्डारी ओली समूहतर्फ लागेका छन् । पन्थ नेकपा विभाजनअगाडि पार्टी जिल्ला अध्यक्ष हुन् । सत्यवती, कालीगण्डकी, चन्द्रकोट र गुल्मीदरबार गाउँपालिकामा कांग्रेस विजयी भएको थियो । 

जिल्ला कमिटी कुन समूहमा कति ?

एमाले र माओवादी एकीकरणपछि गुल्मीको नेकपा जिल्ला कमिटी १४६ सदस्यीय बनाइएको थियो । जिल्ला अध्यक्ष पूर्व एमाले र सचिव पूर्व माओवादीलाई हुने गरी कमिटी गठन भएको थियो । अहिले नेकपा विभाजनपछि बहुमत जिल्ला कमिटी प्रचण्ड–नेपाल समूहतर्फ खुलेका छन् । प्रचण्ड नेपाल तर्फ ९५ र ओलीतर्फ ५१ जना खुलेको अवस्था छ ।

प्रदेश कमिटी कति कुन समूहमा ?

गुल्मीमा नेकपामा प्रदेश कमिटी सदस्य १९ जना छन् । तीमध्ये ११ जना प्रचण्ड नेपाल र ८ जना ओली समूहमा खुलेका छन् । 

त्यस्तै स्थानीय तहका कमिटी र क्षेत्र नम्बरसहित गठन भएका १७ कमिटीमध्ये १३ वटा कमिटीको नेतृत्व प्रचण्ड–नेपाल र ४ वटा कमिटीको नेतृत्व ओली समूहतर्फ लागेको अवस्था छ ।

जिल्लाका कुन नेता कता ?

४९ सदस्यीय जिल्ला सचिवालयमा ३० जना प्रचण्ड–नेपाल र १९ जना ओली समूहतर्फ खुलेका छन् । त्यस्तै वीरबहादुर कार्की, बुद्धि जिसी, भुपाल पोखरेल, गणेश श्रीपाली, हिरा एसी र सोमनाथ सापकोटा प्रचण्ड–नेपाल समूहतर्फ छन् भने बालसिंह काउचा, कृष्ण सुनार, हरि पोखरेल, हिमाल श्रेष्ठ, कृष्ण घिमिरे र राजेन्द्र अर्याल ओली समूहतर्फ छन् । 

के भन्छन् जिल्ला नेताहरू ?

प्रचण्ड–नेपाल समूहमा लागेका गणेश श्रीपालीले गोकर्णको आफ्नो निर्वाचन क्षेत्रका पूर्व एमालेहरू ८५ प्रतिशत प्रचण्ड–नेपाल समूहमा रहेको दाबी गरे । उनले भने, ‘जेसुकै भए पनि गोकर्णलाई निर्वाचनमा कुनै असर गर्दैन ।

उहाँ कहिल्यै हार्ने नेता होइन । लोकप्रिय नेताका कार्यकर्ताहरू कतै जाँदैनन्, त्यसमाथि पूर्व माओवादीहरू ओली समूहतर्फ गएका छैनन् ।’ प्रदीप ज्ञवालीको क्षेत्रमा पूर्व एमाले दुवै समूहमा बराबर रहेको श्रीपालीको भनाइ छ । माओवादी खेमा मिसिँदा प्रचण्ड–नेपाल नेपाल समूह त्यहाँ पनि बलियो हुने उनको दाबी छ । 

त्यस्तै ओली समूहका नेता बालसिंह काउचाले गुल्मीमा ओली समूह पनि बलियो अवस्थामा रहेको बताए । उनले भने, ‘गुल्मीका ज्ञवाली र विष्ट दुवै लोकप्रिय नेता हुन् । दुवैजनालाई लोकप्रिय पार्टीले नै बनाएको हो । हामी नेता–कार्यकताहरू व्यक्तिको पछाडिभन्दा पनि माउ पार्टीप्रति बफादार हुनुपर्छ । कार्यकर्तामा हामी धेरै नजिक र बहुमतका साथ छौं ।’

salt training

कमेन्ट गर्नुहोस्