२१ जेठ २०८३, बिहीबार

तिलोत्तमा चक्रपथमा ट्राम रेल चलाउन डीपीआर बनाइँदै

तिलोत्तमा चक्रपथमा ट्राम रेल चलाउन डीपीआर बनाइँदै

रुपन्देहीको तिलोत्तमामा लगानी सम्मेलनमा समझदारी भए अनुसार तिलोत्तमा चक्रपथमा ट्राम रेल सञ्चालन गर्न तिलोत्तमा पब्लिक रेल्वे कम्पनी लिमिटेडले डीपीआरको काम शुरू गरेको छ ।

परामर्शदाता कम्पनी मुन स्टार इन्जिनीयरिङ कन्सल्टेन्सी प्रालिमार्फत् गरिने डीपीआरको केही दिनअघि तिलोत्तमा नगर प्रमुख बासुदेव घिमिरेले योगिकुटीमा शुभारम्भ गरेका थिए ।

करीब ५० किलोमिटरको तिलोत्तमा चक्रपथमा ट्राम रेल सञ्चालनको लागि डीपीआर बनाइँदैछ । तिलोत्तमा पब्लिक रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक भोला शर्माका अनुसार आगामी वर्षदेखि पहिलो चरणको लीग निर्माण गर्ने गरी काम अघि बढाइएको छ ।

सामुदायिक लगानीमा रेल सञ्चालनको लागि आवश्यक तयारीको काम अघि बढाइएको हो । नेपालमै नमूना र सरकार आफैंले गर्नुपर्ने काममा स्थानीयले अग्रसरता देखाएकाले स्थानीय, प्रदेश र संघीय सरकारको समेत सहयोग रहने लगानीकर्ताको विश्वास छ । 

तिलोत्तमा नगरपालिका प्रमुख बासुदेव घिमिरेले पब्लिक शेयरमा सञ्चालन हुने रेलका लागि नगरपालिकाले सक्दो सहयोग गर्ने बताए । रेल्वे निर्माणमा आउने बाधा अड्चन फुकाउन र सक्दो आर्थिक सहयोग गर्न नगरपालिका तयार रहेको बताउँदै नगर प्रमुख घिमिरेले रेल्वेको काम तोकिएकै समयमा सम्पन्न हुने र सञ्चालन हुने विश्वास व्यक्त गरे ।

२ वर्षभित्र योगिकुटीदेखि रोहिणी नदीको जलासयसम्मको १४ किलोमिटर सडकमा रेल सञ्चालन गर्ने लक्ष्यका साथ काम अघि बढाइएको प्रबन्ध सञ्चालक शर्माले जानकारी दिए ।

रेल्वे कम्पनीका अध्यक्ष बाबुराम अर्याल कृषि र पर्यकटीय हिसाबमा रेलप्रति सबैको आकर्षण रहने बताउँदै परियोजना नगरपालिकाको मार्गदर्शनमा अघि बढेको स्पष्ट पारे । रेल सञ्चालन हुँदा सडकमा कुनै अवरोध नहुने र कोलाहल पनि नहुने उनले बताए ।

ट्राम पर्यटकीय रेल भएकाले मानव बस्तीलाई कुनै अवरोध नगर्ने र सडकमा समस्या हुँदा बे्रक लगाएर पनि रेल रोक्न सकिने प्रबन्ध सञ्चालक शर्माले बताए । तिलोत्तमा नगर प्रमुखले देखाएको तत्परताको कारण परियोजनाको काम अघि बढेको उनले बताए ।

रेल सञ्चालनका लागि बाटो, पैसा र रेल कहाँबाट ल्याउने भन्ने प्रमुख समस्या रहने गरेकोमा तिलोत्तममा सञ्चालन हुने रेलका लागि यी विषयमा कुनै समस्या नभएको उनले बताए । उनले लगानीको लागि नगरबासी नै धेरै आतुर भएको आफूले पाएको बताए ।

भविष्यमा तिलोत्तमामा हुने मानिसको आवतजावतको कारण पनि रेल सञ्चालनमा कुनै समस्या नहुने र यसले लगानीको प्रतिफल दिने भन्दै उनले ढुक्क भएर लगानी गर्न सबैलाई आह्वान गरे । तिलोत्तमा नगरपालिका–२ का वडाध्यक्ष दधिराम गौतम, तिलोत्तमा पप्लिक रेल्वे कम्पनी लिमिटेडका उपाध्यक्ष हरि तिवारीले रेल सञ्चालनमा सबैको सहयोग र सल्लाह आवश्यक पर्नेमा जोड दिए ।

मुन स्टार इन्जिनीयरिङ कन्सल्टेन्सी प्रालिले ७–८ महिनाभित्र डीपीआरको काम सम्पन्न गर्ने बताइएको छ । हालसम्म ५०१ जनाको शेयर रहेकोमा लगानी खुला गरिएको सञ्चालक डिल्लीनारायण पाण्डेले जानकारी गराए । 

salt training

कमेन्ट गर्नुहोस्