
विशेष सूचनाका आधारमा महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरी टोलीले स्रोत नखुलेको करीब ३७ लाख रुपैयाँसहित एक जनालाई पक्राउ गरेका छन् ।
गएको पुस २७ गते करीब ९:३० को समयमा चेकजाँचका क्रममा ३६ लाख ९० हजार स्रोत नखुलेको रकमसहित चितवनको माडी नगरपालिका वडा नं. ६ का २६ वर्षीय रामकुमार गुरुङ पक्राउ परेको प्रहरीले जनाएको छ ।
चितवनबाट काठमाडौं आउँदै गरेको बा ३ ख ९१३९ नं. को हायस गाडीलाई रोकी प्रहरीले चेक जाँच गर्ने क्रममा गुरुङले बोकी आएको कालो रंगको झोलामा नेपाली मुद्रा रु १,०००।– (एक हजार) दरको ३६०० (तीन हजार छ सय) थान र नेपाली रकम रू ५००।– दरको १८० (एक सय असी) थान गरी जम्मा रकम रु ३६ लाख ९० हजार फेला परेको थियो ।
उनीमाथि थप अनुसन्धान र कारवाहीका लागि सम्पत्ति शुद्धीकरण विभाग हरिहरभवनसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ ।