०८ साउन २०८३, शुक्रबार

संसद पुनःस्थापना भए पार्टी एकता जोगिन्छ : नेता भुसाल

संसद पुनःस्थापना भए पार्टी एकता जोगिन्छ : नेता भुसाल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता घनश्याम भुसालले संसद पुनःस्थापना भए पार्टी एकता जोगिने बताएका छन् ।

संसद विघटनपछि नेकपा २ भागमा बाँडिएकोमा संसद पुनःस्थापना हुँदा पार्टी एकीकृत हुने र त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदमको गम्भीर समीक्षा हुने उनले बताए ।

नेकपा तिलोत्तमा नगर कमिटीले शनिवार मणिग्राममा आयोजना गरेको विस्तारित बैठक तथा भेलालाई सम्बोधन गर्दै नेता भुसालले संसद पुनःस्थापनाको विकल्प नभएको स्पष्ट पारे । 

उनले सेटिङबाहेक अर्को कुनै तरिकाले संसद पुनःस्थापनालाई रोक्न नसक्ने दाबी गरे । संसद पुनःस्थापना नभए मुलक डरलाग्दो भूमरीमा फस्ने र हालसम्म प्राप्त उपलब्धिहरू नासिने उनले बताए ।

न्यायालयलाई प्रभावित पार्न नदिनका लागि दबाब दिनुपरेकाले सडक आन्दोलन गर्नुपरेको बताउँदै नेता भुसालले ३ महिनाभित्र संसद पुनःस्थापना हुने विश्वास व्यक्त गरे । संसद पुनःस्थापना हुन नदिने षड्यन्त्र विरुद्धको आन्दोलनलाई सफल बनाउन सबै न्यायप्रेमीहरू एकै ठाउँमा गोलबन्द हुनुपर्ने बताउँदै उनले देशका बुद्धिजीवी, संविधानविद्, कानूनविद् सबै संसद विघटनको विपक्षमा रहेकाले पनि प्रधानमन्त्रीको असंवैधानिक कदम सच्चिने बताए  ।

‘संविधानलाई ट्रयाकमा ल्याउन, संविधानलाई च्यातिन नदिन पनि संसद पुनःस्थापना हुनुपर्छ,’ उनले भने, ‘प्रधानमन्त्री संविधान भत्काउने योजनामा हुनुहुन्छ । त्यसको फायर संसद विघटनबाट खोल्नुभएको छ । सबै कुरा आफ्नो नियन्त्रणमा राख्ने नपाएपछि प्रधानमन्त्रीले संसद विघटन गर्नुभएको हो ।’ 

कार्यक्रममा नेकपा केन्द्रीय कमिटी सदस्य वामदेव क्षेत्रीले प्रधानमन्त्रीको एकात्मवादी सोच र व्यवहारका कारण समस्या आएको बताउँदै संसद विघटनले राजावादीहरू सल्बलाउने अवसर पाएको बताए । संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको लागि सडकबाटै संसद पुनःस्थापना गरिने उनले बताए ।

पार्टीका अर्का नेता तथा सामाजिक विकास मन्त्री समाजवादउन्मुख देश बनाउन २ ठूला कम्युनिस्ट पार्टीबीच एकता भएकोमा त्यसतर्फ अघि बढ्न नचाहेकाले प्रधानमन्त्रीले अहंकारको धारा लगाएर संसद विघटन गरेको टिप्पणी गरे ।

कार्यक्रममा पार्टीका प्रदेश सदस्य मक्सुद अली, पार्टीका जिल्ला सचिव निर्मल जिसी, नेता तथा तिलोत्तमा नगर प्रमुख बासुदेव घिमिरे, नेतृ तथा तिलोत्तमा नगर उपप्रमुख जागेश्वरी चौधरी लगायतले बोलेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्