२० असार २०८३, शनिबार

पशुपति पुस्तकालयका महत्त्वपूर्ण २०० पुस्तक पूर्व पदाधिकारीसँग

माघ ५, २०७७
पशुपति पुस्तकालयका महत्त्वपूर्ण २०० पुस्तक पूर्व पदाधिकारीसँग
प्रतिकात्मक तस्वीर

पूर्वीय दर्शनका महत्त्वपूर्ण पुस्तकहरू संकलन गरी पशुपति क्षेत्रमा रहेको पशुपति पुस्तकालयमा राखिएका पुस्तक पढ्न लगेकाले २० औं वर्षदेखि फिर्ता गरेका छैनन् ।

नेपाल वेद विद्याश्रमले विक्रम संवत् २०३१ सालमा स्थापना गरेको पुस्तकालयमा पशुपति क्षेत्र विकास कोष स्थापना भएपछि कोषको पुस्तकालय समेत एकीकृत गरी एउटै पुस्तकालय सञ्चालन गरिएको थियो ।

विक्रम संवत् २०५६ साउनपछि वेद विद्याश्रम समेत कोषले सञ्चालन गर्न थालेको छ । कोषले वेद विदाश्रम सञ्चालन गर्न थालेपछि दुवै पुस्तकालयलाई एउटै बनाइएको हो ।

पुस्तकालयमा रहेका ५ हजार पुस्तकमध्ये महत्त्वपूर्ण २०० पुस्तक कोषका पूर्व पदाधिकारीले लगेको सूचना आफूले पाएको कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडा बताउँछन् । बाहिर रहेका पुस्तक संकलन गरी पशुपति क्षेत्रमा आकर्षक पुस्तकालय सञ्चालन गर्न लागिएको पनि कोषले जनाएको छ । 

‘पूर्व पदाधिकारीले लगेका पुस्तक घरघरमै गएर संकलन गरी नमूना पुस्तकालय सञ्चालन गर्छौं, वेद विद्याश्रमका विद्यार्थीका लागि पनि पुस्तकालयले अध्ययनमा सहयोग गर्नेछ, पशुपति क्षेत्रमा आउने भक्तजनले समेत केही समय बसेर अध्ययन गर्न चाहेमा पढ्न पाउने व्यवस्था मिलाउँछौं,’ उनले भने ।

कोष मातहत पुस्तकालय भए पनि विगतमा कमै खुल्ने गरेको थियो । कोषले हालै पुस्तकालय हेर्ने कर्मचारीसमेत तोकेको छ । वेद विद्याश्रममा अध्ययन गर्दै हाल अध्यापनसमेत गराउन थाल्नुभएका मनोज घिमिरे विद्यार्थी र अध्यापक गरी २० वर्षे अवधिमा कहिलेकाहीँ मात्र पुस्तकालय खुलेको सुनाउँछन् ।

विक्रम संवत् २०५६ सालदेखि कोषले चलाएको पुस्तकालयमा तोकिएका कर्मचारी कहिले आउने कहिले नआउने गर्दा प्रायजसो बन्द रहने गरेको उनले जानकारी दिए । राष्ट्रदेवका रूपमा पूजिने पशुपतिनाथको मन्दिर रहेको क्षेत्रमा स्वदेश र विदेशबाट समेत वार्षिक लाखौं पर्यटक आउने गरेका छन् । ती पर्यटकका लागि पशुपतिनाथ, पूर्वीय दर्शनलगायत विषयमा जानकारी लिने पुस्तकालयको अभाव छ ।

 पुस्तकालयमा विभिन्न वेद, शिवपुराण, नेपाली निघण्टुलगायत पूर्वीय दर्शनका महत्त्वपूर्ण पुस्तक छन् । शहरी क्षेत्रमा इ–पुस्तकालयको समेत अवधारणा आइसकेको समयमा यहाँ भने भइरहेको पुस्तकालय समेत व्यवस्थितरूपमा सञ्चालन हुन सकेको छैन । – पूर्णप्रसाद मिश्र/रासस 

salt training

कमेन्ट गर्नुहोस्