
काठमाडौं, १९ मंसिर — अस्ट्रेलियाले न्युजिल्यान्डविरुद्धको पहिलो एकदिवसीय प्रतियोगिता ६८ रनले जितेको छ ।

आइतवार सिड्नीमा भएको यस खेलमा अस्ट्रेलियाले पहिले ब्याटिङ गर्दै आठ विकेटको क्षतिमा ३२४ रन बनायो ।
जवाफमा न्युजिल्यान्ड ४४.२ ओभरमा जम्मा २५६ रनमा अलआउट भयो ।
न्युजिल्यान्डका लागि प्रारम्भिक ब्याट्स्म्यान मार्टिन गुप्तिलले ११४ रन बनाएपनि अन्य ब्याट्स्म्यानले रन जोड्न सकेनन् । कोलिन मुनरोले ४९ र जेम्स नीशमले ३४ रन जोडे ।
अस्ट्रेलियाका लागि जोश हेजलऊडले तीन, मिचेल मार्श, एडम जाम्पा र प्याट कमिङ्सले दुई दुई अनि मिचेल स्टार्कले एक विकेट लिए ।
यसअघि ब्याटिङ गरेको अस्ट्रेलियाका लागि कप्तान स्टिभन स्मिथले १६४ रनको विशाल पारी खेले । एक समयमा ९२ रनमै चार विकेट गुमाएको अस्ट्रेलियाको पारी सम्हाल्ने मात्र नभई विजयी स्थितिमा ल्याउन स्मिथको ब्याटिङ जिम्मेवार रह्यो ।
अन्य ब्याट्स्म्यानमा ट्राभिस हेडले ५२ र म्याथ्यु वेडले ३८ रन बनाए । स्मिथ र हेडका बीच १२७ रनको साझेदारी भयो ।
न्युजिल्यान्डका लागि म्याट हेनरी, ट्रेन्ट बोल्ट र नीशमले दुई दुई विकेट लिए भने लोकी फर्गुसनको नाममा एक विकेट रह्यो ।
१६४ रन बनाएर अस्ट्रेलियालाई जिताएका स्मिथ म्यान अफ द म्याच भए ।
तीन एकदिवसीय म्याचको शृंखलामा दोस्रो म्याच मंसिर २१ गते क्यानबेरामा खेलिनेछ ।