
नेपाल कम्युनिस्ट पार्टी नेकपा (प्रचण्ड-नेपाल) समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जताततै सेटिङ छ भनेर गरिएको प्रचारप्रति चिन्ता व्यक्त गरेका छन् ।
काठमाडौंमा आइतवार अनेरास्ववियुको उपत्यका भेलालाई सम्बोधन गर्दै प्रचण्डले सेटिङ शब्दभित्र के रहस्य छ भन्ने चिन्ता आफूहरूलाई लागेको बताए ।
'एउटा शब्द आजभोलि खुब सुनिन्छ नि, सेटिङ । यो डरलाग्दो शब्द छ नेपालमा । सेटिङ भैसक्यो, सबैतिर सेटिङ ..., केपीका मान्छेले भन्दै हिँड्याछन् । केपीले पनि भन्या छन् । अदालतलाई पनि जे भन्यो त्यही मान्नुपर्छ, तिमीहरूले भन्या छन् । निर्वाचन आयोगलाई पनि भन्या छन् । हामीले त अदालतलाई, निर्वाचन आयोगलाई केही भन्या छैनौं, विश्वास मात्र व्यक्त गरेका छौं,' प्रचण्डले भने, 'तर केपी र केपीनजिकका मान्छेले सेटिङ भैसक्यो । निर्वाचन आयोगबाट सूर्य चिह्न पनि हाम्रै हुन्छ, अदालतले पनि हामीले भनेअनुसार नै गर्छ भनेको देख्दा यो सेटिङ शब्दभित्र के रहस्य हो भन्ने चिन्ता त लाग्या छ ।'
उनले यसो भन्दै गर्दा आफूले अदालत र निर्वाचन आयोगमाथि शंका नगर्ने बताए ।
'म यो मञ्चबाट सम्मानित सर्वोच्च अदालतमाथि शंका गर्न चाहन्न । तर, केपीको सेटिङमाथि त शंका गर्न पाइयो नि हामीले ! हामी निर्वाचन आयोगलाई पनि शंका गर्न चाहँदैनौं, तर केपीका मान्छेले सेटिङ भैसक्यो भन्दै हिँडेको कुरालाई त शंका गर्न पनि पाइयो, विरोध गर्न पनि पाइयो नि !' प्रचण्डले भने ।