
अमेरिकाका राष्ट्रपति–निर्वाचित जो बाइडनले कर्ट क्याम्पबेललाई हिन्द–प्रशान्त संयोजक बनाउने भएका छन् । क्याम्पबेलले लामो समयदेखि प्रशान्त क्षेत्रमा अमेरिकाको रणनीति बनाएका छन् ।
बाइडनले चीनबाट तेर्सिएको आर्थिक, भूराजनीतिक र सुरक्षा चुनौतीलाई सम्बोधन गर्नमा जोड दिन क्याम्पबेललाई ल्याएका हुन् ।
क्याम्पबेल ओबामा प्रशासनमा पूर्वी एसियाका लागि असिस्टेन्ट सेक्रेटरी अफ स्टेट थिए ।
चीनसँग प्रतिस्पर्धा गर्दै गर्दा उससँग मिलेर काम गर्न पनि अमेरिकाले जोड दिनुपर्ने त्यहाँका विश्लेषकहरूले बताएका छन् । क्याम्पबेललाई नियुक्त गरेर बाइडनले चीनसँगको रणनीतिक सम्बन्ध महत्त्वपूर्ण रहेको र हिन्द प्रशान्त क्षेत्रलाई अमेरिकाले गम्भीरतापूर्वक लिने देखिएको छ ।
एसियाका विषयमा अमेरिकाको नीतिनिर्माणको केन्द्रमा क्याम्पबेल रहेका छन् । क्लिन्टन प्रशासनमा क्याम्पबेलले रक्षा राज्यमन्त्री जोसेफ नाइको नाइ इनिसिएटिभको नेतृत्व गरेका थिए । चीनको सम्पत्ति, शक्ति, प्रभाव र महत्त्वाकांक्षाको भविष्यवाणी गर्दै प्रशान्त क्षेत्रमा अमेरिकी साझेदारहरूलाई समर्थन गर्ने पहल थियो त्यो ।
पछि ओबामा प्रशासनमा परराष्ट्रमन्त्री हिलारी क्लिन्टनका शीर्ष एसियाली अधिकारीका रूपमा क्याम्पबेलले पिभट टु एसिया बनाउन सहयोग गरेका थिए । अमेरिकालाई मध्यपूर्वबाट भूरणनीतिक फोकस हटाएर पूर्वी एसियामा लग्ने प्रयास थियो त्यो ।
उनले एसियामा अमेरिकाको राजनीतिक तथा सैन्य अग्रता कायम गर्न क्षेत्रीय साझेदारीमार्फत चीनलाई सन्तुलनमा राख्ने उनको दृष्टिकोण हो । त्यतिखेर उनले अपनाएको दृष्टिकोणभन्दा समय निकै अघि बढिसकेको छ । चीन पहिलेभन्दा बढी शक्तिशाली छ र अमेरिका समस्यामा परेको छ ।
त्यसैले चीन र अमेरिकाको सम्बन्धको सहकार्य, प्रतिस्पर्धा वा भिडन्तमध्ये एक वा सबैको मिश्रणमा आधारित हुने हो भन्ने प्रश्न छ ।
हिन्द प्रशान्त संयोजकको पद राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सलिभान र उपसल्लाहकार जोन फाइनरभन्दा मुनि हुनेछ । राष्ट्रिय सुरक्षा परिषद्का तीन वरिष्ठ निर्देशकले उनलाई रिपोर्ट गर्नेछन् ।