
बाग्मती प्रदेश सभा कार्य परामर्श समितिको बिहीवार बसेको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध ल्याइएको अविश्वासको प्रस्तावलाई संसद्को बैठकमा तुरुन्तै टेबुल गर्ने भन्ने विषयको छलफल निष्कर्षविहीन बन्न पुगेको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल पक्षधर प्रदेश सभा सदस्य राजेन्द्र पाण्डे, शालिकराम जम्कट्टेल, बुद्धिमान माझी र नेपाली कांग्रेसका सदस्य छिरिङ दोर्जे लामा, पुकार महर्जन, साझा विवेकशीलका शोभा शाक्य तथा राप्रपाका रीता माझीले मुख्यमन्त्री पौडेलविरुद्ध ल्याइएको अविस्वासको प्रस्तावलाई शुक्रबार ९ः०० बिहानदेखि ११ः०० बजेसम्ममा प्रदेशसभाको बैठकमा छलफलका लागि प्रस्ताव टेबुल गर्नुपर्ने माग गरेका थिए।
उनीहरूले उक्त प्रस्तावमाथि शुक्रबार नै बैठक सञ्चालन गरी प्रस्तावलाई सामान्य छलफलमा ल्याउने र अन्य प्रक्रिया पूरा गर्नका लागि एक हप्ताको समय सार्नसमेत सभामुख श्रेष्ठलाई आग्रह गरिएको उल्लेख गरे ।
प्रदेश सभाको बैठक शुक्रबार सञ्चालनका लागि आज अपराह्न ४ः०० बजेको समयभित्र सूचना सार्वजनिक गर्नुपर्ने प्रावधान रहेको भए पनि सचिवालयले कुनै प्रकारको सूचना सार्वजनिक नगरिएको र बैठक बस्ने सम्भावना न्यून रहेको राप्रपाका प्रदेशसभा सदस्य माझीले जानकारी दिए।
सभामुख श्रेष्ठ मुख्यमन्त्री पौडेललाई भेट गर्न आफ्नो कार्यकक्षबाट ३ः४० बजे बाहिरिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।