०९ साउन २०८३, शनिबार

प्रचण्ड–नेपाल पक्षद्वारा शुक्रबार राजधानीमा शक्ति प्रदर्शन, १ लाख प्रदर्शनकारी उतार्ने दावी

राजधानीका यी स्थानबाट जुलुस, आक्रामक नारा नलगाउन निर्देशिका
प्रचण्ड–नेपाल पक्षद्वारा शुक्रबार राजधानीमा शक्ति प्रदर्शन, १ लाख प्रदर्शनकारी उतार्ने दावी
फाइल तस्बिर

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भंग गरेसँगै चरणबद्ध आन्दोलनमा रहेको प्रचण्ड–माधव नेपाल समूहले शुक्रबार राजधानीमा शक्ति प्रदर्शन गर्न लागेको छ । शक्ति प्रदर्शनकै लागि भनेर सो समूहले जिल्ला जिल्लाबाट राजधानीमा मानिस उतारेको छ । आजको प्रदर्शनमा १ लाख बढी प्रदर्शनकारी उतार्ने सो समूहले दावी गरेको छ ।

प्रतिनिधिसभा पुनःस्थापना तथा विघटनको विरोधमा आयोजित शक्ति प्रदर्शनअघि राजधानीका विभिन्न ९ स्थानबाट जुलुस निकालिने छ । त्यसका लागि नारायणकाजी श्रेष्ठ नेतृत्वको केन्द्रीय संघर्ष समितिले निर्देशिका नै जारी गरेर पार्टीका प्रदेश, जिल्ला, जनवर्गीय संगठन, मोर्चालगायतका साङ्गठानिक संरचनालाई प्रदर्शनमा सहभागी हुन निर्देशन दिएको छ ।
निर्देशिकामा प्रदेश प्रदेश, जिल्ला, जबस मोर्चा संगठनहरुले विरोध प्रदर्शन एवम् सभामा सहभागिता गराउने भनी जानकारी दिएको संख्यामा नघटाउने गरी अनिवार्य उपस्थिति गराउनुपर्ने भनिएको छ । प्रदर्शनकारीहरु तोकिएको ९ स्थानमा पौने ११ बजेसम्म भेला भइ सक्नुपर्नेछ । जसअनुसार माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपण्डोल, प्रदर्शनीमार्ग, शान्टिबाटिका, त्रिचन्द्र कलेज, बाल्मिकी कलेज क्षेत्रमा भेला हुन भनिएको छ।  
सबै जुलुस रत्नपार्कमा जम्मा भइ मूल जुलुसमा परिणत हुनेछ भने त्यहाँबाट रत्नपार्क–बागबजार, पुतलीसडक–भद्रकाली–भोटाहिटी हुँदै भृकुटीमण्डप सभामा परिणत हुने संघर्ष समितिका संयोजक श्रेष्ठले जानकारी दिए । जुलुसको नेतृत्व प्रवक्ता श्रेष्ठ, स्थायी कमिटी सदस्य गणेश साह, गिरिराजमणि पोखरेल, मातृकाप्रसाद यादव, लीलामणि पोखरेल, हरिबोल गजुरेल, वर्षमान पुन, वेदुराम भुसाल भीमबहादुर रावल, शक्तिबहादुर बस्नेत, नन्दकुमार प्रसाईं, देवेन्द्र पौडेल, युवराज ज्ञवाली, सुरेन्द्रप्रसाद पाण्डे, कृष्णबहादुर महरा, पम्फा भुसाल, रघुजी पन्त,  घनश्याम भुसाल, जनार्दन शर्मा, योगेश भट्टराई लगायतले गर्ने बताइएको छ । यस्तै विरोध सभालाई प्रचण्ड, नेपाल, झलनाथ खनाललगायतका सो समूहका नेताले सम्बोधन गर्नेछन् ।

जथाभावी नारा नलगाउन निर्देशन
यसैबीच नेकपाको प्रचण्ड–नेपाल समूहले प्रतिनिधिसभा विघटनको विरोधमा हुने जुलुसलाई मर्यादित बनाउँदै निर्धारित नारा मात्र लगाउनुपर्ने निर्देशिका पनि जारी गरेको छ । केन्द्रीय संघर्ष समितिले सभालाई पनि व्यवस्थित बनाउन आग्रह गरेको छ ।
माघ ३ गते बसेको संघर्ष समितिको बैठकले प्रतिनिधिसभा विघटनको विरोध तथा लोकतन्त्र, संविधान र जनअधिकारको रक्षाका लागि माघ ९ गते विरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो ।


salt training

कमेन्ट गर्नुहोस्