एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत वन तथा भु–संरक्षण विभागसँगको सहकार्यमा कोटेश्वर देखि कलंकी सडकखण्डको ग्रीन बेल्ट क्षेत्रमा हरियाली निर्माण तथा संरक्षण गर्दैछ । झण्डै १०.२ किलोमिटर दुरी रहेको यस सडक खण्डको हरियाली विकास तथा संरक्षण गर्दै एनसेलले वातावरण संरक्षणमा योगदान पुर्याउने उद्देश्य लिएको एनसेलले जनाएको छ ।
यस सामाजिक पहल अन्तर्गत एनसेलले कोटेश्वर देखि कलंकी सडक खण्डको ग्रीन बेल्ट क्षेत्रमा ल्याण्डस्केपिङ सहित हरियाली निर्माण र संरक्षणको काम गरिहेको छ । यसै पहल अन्तर्गत एनसेलले एकान्तकुना देखि बल्खु सडक खण्डका ग्रीन बेल्ट क्षेत्रमा नमुनाका रुपमा हरियाली निर्माण गर्ने कार्य सम्पन्न गरिसकेको छ ।
यस ग्रीन बेल्ट क्षेत्रलाई एक उदाहरणीय हरित क्षेत्रको रुपमा विकास गरी यस क्षेत्रको संरक्षण गर्ने उद्देश्य एनसेलले लिएको छ । यस अघि एनसेलले कोटेश्वर देखि कलंकी सडक खण्डमा वृक्षारोणका लागि पनि सहयोग गरेको थियो । हरियाली विकासका साथै एनसेलले पाँच वर्षसम्म यो खण्डमा रहेका ६,००० भन्दा बढि रुख बिरुवाको हेरचाह गर्दै ग्रीन बेल्टको संरक्षणको काम पनि गर्नेछ ।
एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले यस सामाजिक पहलका बारेमा उत्साह व्यक्त गर्दै भने “वन तथा भू–संरक्षण विभागसँगको यो सहकार्यले कसरी सार्वजनिक र निजी क्षेत्रको सहकार्यमा प्रभावकारी काम गर्न सकिन्छ भन्ने उजागर गरेको छ । रिङ रोडको १०.२ किलोमिटर सडक खण्डको क्षेत्रमा दायाँ बायाँ हरियाली निमार्ण तथा संरक्षणको कार्य सार्वजनिक–निजी साझेदारीको एक उत्तम उदाहरण हो । यो पहलले समुदायमा स्वच्छ वातावरण निमार्ण गर्दै वातावरण र पर्यावरण सम्बन्धी लक्ष्यप्राप्तिमा योगदान पुर्याउने विश्वास लिएका छौ । यो पहल कार्बन फुटप्रिन्ट घटाउन र पर्यावरण संरक्षणका लागि हामीले गरेका कार्यक्रमहरु मध्ये एक हो । दीर्घकालिन प्रभाव पर्ने दीगो पहलहरुमा योगदान गर्ने हाम्रो उदेश्य रहेको छ ।”
वन तथा भु–संरक्षण विभागका महानिर्देशक मन बहादुर खड्का भने, “वृक्षारोपण गर्दै हरियाली बढाउने सरकारको अभियान अन्तर्गत यो रिङ रोड ग्रीन बेल्ट योजना कार्यान्वयनका लागि २ महानगरपालिकाका समन्यवयका साथ एनसेलसँग सहकार्य गर्न पाएकोमा हामी खुसी छौं । रुख रोप्न सजिलो छ तर यसको हेरचाह गरी हुर्काउने र हरियाली कायम गर्दै फाइदा लिन धेरै गाह्रो हुन्छ र यो काम एनसेलले गर्दैछ । आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत यो योजनाको जिम्मेवारी लिएर यसको राम्रो हेरचाह हुने विश्वास दिलाएकोमा हामी एनसेल प्रति आभारी छौं ।”
यो योजना कार्यान्वयन गर्न वन तथा भु–संरक्षण विभाग र एनसेलकाबीच भएको सहकार्यको प्रसंशा गर्दै, ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले भने, “यो योजनाले हाम्रो हरियाली विकास तथा वातावरण संरक्षण सम्बन्धी ग्रीन एन्ड ब्लु क्याम्पेनमा ठूलो योगदान दिने भएकोले हाम्रो ललितपुर महानगरपालिका यो योजनाको सफल कार्यान्वयनका लागि आवश्यक पर्ने कुनैपनि सहयोग प्रदान गर्न तयार छ ।”
एक जिम्मेवार कर्पोरेट नागरीकको रुपमा एनसेलले दीगो विकासका लक्ष्य (एसडीजी) अन्तर्गत शिक्षा तथा स्वास्थ्यका साथसाथै वातावरण संरक्षण तथा जलवायु (क्लाइमेट एक्सन) अन्तर्गतका पहलहरुलाई पनि प्राथमिकतामा राख्दै सामाजिक कार्यहरु गर्दै आएकोे छ । औद्योगिक व्यावसायिक नियमावलीले पनि व्यावसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत वातावरण संरक्षणलाई एक प्रमुख क्षेत्रको रुपमा राखेको छ ।
वातावरण संरक्षण पहल अन्तर्गत नै रही एनसेलले काठमाडौं महानगरपालिकामा एक हरित पार्क पनि निर्माण गर्दैछ । यस अघि एनसेलले धनुषाधाम संरक्षित वनको ३३ हेक्टर जमिनमा ५०,००० बोटबिरुवा वृक्षारोपण गरेको थियो र यसका साथै धनुषामा वृक्षारोपण र पर्यावरण संरक्षण तथा प्रवद्र्धन सम्बन्धि जनचेतना अभिवृद्धिका कार्यक्रमहरु संचालन गरेको थियो । यस पहलको सफल कार्यन्वयन पछि सरकारले धनुषाधाम संरक्षित वनलाई ‘खुल्ला चरिचरन तथा अनियमित कटान मुक्त क्षेत्र’ पनि घोषणा गरिसकेको छ ।