नेप्से परिसूचक २३७५.६४ विन्दुमा

अघिल्लो दिनको तुलनामा करिब ३२ अंक बढेपछि बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक २ हजार ३ सय ७४.६४ विन्दुमा उक्लेको छ । अघिल्लो दिनको तुलनामा नेप्से १.३६ प्रतिशतले बढेको हो । सो दिन कारोबारमा आएकामध्ये बैंकिङ र सामूहिक लगानी कोष समूहबाहेक सबै समूहको परिसूचक बढेपछि समग्र नेप्सेको वृद्धिमा टेवा पुगेको हो ।

पछिल्ला दिनमा नेप्से लगातारजसो बढिरहेको छ । सोही कारण हरेक दिन नेप्सेले नयाँ रेकर्ड बनाउँदै आएको छ । सोही क्रममा बिहीबार २४ सय नजिक पुगेको हो ।


Advertisement

लकडाउनपछि खुलेको बजार प्रायः दिन उच्च अंकले बढिरहेको छ । अधिक तरलताका कारण ब्याजदर घटिरहेको छ । बैंक तथा वित्तीय संस्थाले सेयर धितोमा कर्जालाई प्राथमिकता पनि दिएका छन् । सोही कारण बजारमा सकारात्मक प्रभाव परेको जानकारहरू बताउँछन् । बिहीबार करिब साढे ६९ हजार कारोबारबाट २ सय ९ कम्पनीका १ करोड ८१ लाख ५ हजार ६ सय ७१ कित्ता सेयर किनबेच भए । ती किनबेचबाट ७ अर्ब ७९ करोड ८५ लाख २८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भयो । यो दिन बैंकिङ उपसमूहको परिसूचक ०.२२ प्रतिशत र सामूहिक लगानी कोष उपसमूहको परिसूचक ०.४३ प्रतिशतले घट्यो ।

निर्जीवन बिमा उपसमूहको परिसूचक सबैभन्दा धेरै ४.९४ प्रतिशतले बढ्यो । लघुवित्त उपसमूहको परिसूचक ४, जलविद्युत्को ३.७७, वित्त कम्पनीको २.८४, जीवन बिमाको २.७१, विकास बैंकको १.२४, अन्यको ०.९६, होटलको ०.६८, उत्पादन तथा प्रशोधनको ०.४४ र व्यापारको ०.०८ प्रतिशतले उकालो लाग्यो । परिसूचक बढेपछि सेयर बजारको आकार (कुल बजार पुँजीकरण) पनि बढेर ३१ खर्ब ८९ अर्ब रुपैयाँ कायम भएको छ ।

नेप्सेको वर्गीकरणमा ‘क’ वर्गमा रहेका कम्पनीको सेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ०.५८ र व्यापारमा रहेका सबै कम्पनीको सेयर कारोबार मापक फ्लोट परिसूचक १.३१ प्रतिशतले बढ्यो । कान्तिपुर दैनिकमा खबर छ ।

छापाबाट
छापाबाट

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्