०२ असार २०८३, मंगलबार

गैँडाको आक्रमणबाट निधन भएका परिवारलाई राहत

गैँडाको आक्रमणबाट निधन भएका परिवारलाई राहत

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रबाट आएको गैँडाको आक्रमणमा परी ज्यान गुमाएका देवचुलीका जङ्गीलाल मुखियाको परिवारलाई राहत रकम प्रदान गरिएको छ ।  

राष्ट्रिय प्रकृति संरक्षण कोष र मध्यवर्तीको टोलीले मुखियाको परिवारलाई घरमै पुगेर राहत स्वस्वरुप रु ५० हजारको चेक प्रदान गरेको हो । 

    राष्ट्रिय प्रकृति संरक्षण कोषका रेन्जर ऋषि सुवेदी र चितवन राष्ट्रिय निकुञ्जअन्तर्गतको शिसवार मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष नेत्रबहादुर पाण्डेले संयुक्त रुपमा राहत रकम प्रदान गर्नुभएको हो । राहत प्रदान गर्दै रेन्जर सुवेदीले मृतकका परिवारलाई आयआर्जनमा सहयोग गर्ने उद्देश्यले राहत रकम प्रदान गरिएको बताए । 

    राष्ट्रिय प्रकृति संरक्षण कोष, विश्व वन्यजन्तु कोष र जेडएसएल नेपालको संयुक्त कोषको ब्याजबाट प्राप्त हुने रकम वन्यजन्तु आक्रमणमा परी ज्यान गुमाएका व्यक्तिका परिवारलाई दिने गरिएको सुवेदीले जानकारी दिनुभयो । पीडित परिवारले उक्त रकमबाट सानै भए पनि आयआर्जन गरेर जीविकोपार्जन गर्न सकुन् भनेर राहत रकम प्रदान गरिएको सुवेदीको भनाइ छ । 

    गैँडाको आक्रमणमा परी ज्यान गुमाउने व्यक्तिको परिवारलाई निकुञ्जले रु १० लाख प्रदान गर्ने वन्यजन्तुसम्बन्धि राहत निर्देशिकामा उल्लेख गरिएको छ ।

सोही व्यवस्थाअनुसार निकुञ्जले मृतकका परिवारको खातामा रकम पठाउने प्रक्रिया शुरु गरेको निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत लोकेन्द्रबहादुर अधिकारीले बताए । निकुञ्जको मध्यवर्ती क्षेत्रबाट निस्किएको गैँडाको आक्रमणमा परी गत कात्तिक १६ गते मुखिया घाइते हुनुभएको थियो । घाइते मुखियाको उपचारका क्रममा चितवनको अस्पतालमा मृत्य भएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्