
सिन्धुलीमा आज बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।
मृत्यु हुनेमा महोत्तरीको रामगोपालपुर नगरपालिका–५ कञ्चनपुर निवासी ४१ वर्षीय वसन्त मुखिया रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए ।
सिन्धुली हुँदै खुर्कोटतर्फ जाँदै गरेको ज१च १३५४ नंको बलेरो आफै अनियन्त्रित भई सडकबाट अन्दाजी २० मिटर तल खसेको थियो ।
बोलेरो चालक धनुषाका गोविन्दपुर–६ का अन्दाजी २२ वर्षीय सिजल यादव गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
यसैबीच जिल्लाको हरिहरपुरगढी गाउँपालिका–१ चिसापानीमा श्रीमान्ले श्रीमतीमाथि बन्चरो प्रहार गर्दा महिलाको मृत्यु भएको छ । चिसापानी बस्ने अन्दाजी ३६ वर्षीया रमामाया घलानलाई ४० वर्षीय शेरबहादुर भुजेलले बन्चरोले हिर्काउँदा रमामायाको मृत्यु भएको हो ।
बन्चरो प्रहार गर्ने भुजेल घटनापछि फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।