
निवेदकतर्फकै बहस लम्बिएपछि प्रतिनिधि सभा विघटनविरुद्धको रिटको सुनुवाइमा निवेदकबीच समन्वय गर्न इजलासले आग्रह गरेको छ ।
सोमबार दिउँसोबाट बहस प्रारम्भ गर्नुभएका वरिष्ठ अधिवक्ता शम्भु थापाले मङ्गलबार पनि दैनिक खाजा समयअघिसम्म बहस गरेपछि इजलासले निवेदकबीच समयका लागि समन्वय गर्न आग्रह गरेको हो । आइतबार दिउँसोबाट नेपाल कम्युनिस्ट पार्टीका तर्फबाट दर्ता भएको निवेदनमा बहस प्रारम्भ भएको थियो । तीन दिनसम्म निवेदक पक्षबाट पाँच जनाले मात्र बहस गरेका छन् ।
मङ्गलबार थापाले बहस सकेसँगै न्यायाधीश अनिलकुमार सिन्हाले निवेदकसँग समन्वय गरेर समय व्यवस्थापनको अवस्था आएको बताउनुभयो । वरिष्ठ अधिवक्ता थापाले श्रीमान्हरूलाई पट्यार लाग्यो होला भन्ने प्रसङ्ग निकालेपछि सिन्हाले सो धारणा राखेका हुन्।
यसअघि पनि सिन्हाले लामो बहस गरेर निवेदनको औचित्य नै सकिने अवस्था ननिम्त्याउन कानुन व्यवसायीलाई आग्रह गर्नुभएको थियो । ‘‘अब निवेदकसँग समन्वय गरेर यति घण्टामा बहस सक्छौँ भनेर प्रतिबद्धता माग्नुपर्ने भन्ने अवस्था आयो’’, इजलासमा न्यायाधीश अनिलकुमार सिन्हाले भने ।
विघटनविरुद्ध १३ वटा रिट दर्ता भएकोमा आइतबारदेखि आठौँ निवेदनमा बहस प्रारम्भ भएको थियो तर तेस्रो दिनसम्म सोही रिटमा बहस जारी छ । रिटका पक्षबाट पाँच जना कानुन व्यवसायीले हालसम्म बहस गरेका छन् । पक्षमा बहसका लागि ६६ जनाको वकालतनामा परेको छ । सबै मुद्दामा कुल ३१४ कानुन व्यवसायीको वकालतनामा छ । सरकारी वकिल र एमिकस क्युरीका तर्फबाट बहसमा जानेको सङ्ख्या कम्तीमा १५ हुनेछ ।
गुरुङका तर्फबाट नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, पूर्वअध्यक्ष हरिहर दाहाल, पूर्वमहासचिव रमनकुमार श्रेष्ठ, वर्तमान बारका पदाधिकारीलगायतको वकालतनामा छ । गोरखापत्र दैनिकमा नारायण काफ्लेले खबर लेखेका छन् ।