१० साउन २०८३, आइतबार

चारजना पूर्व प्रधानन्यायाधीशविरुद्धको अवहेलनासम्बन्धी मुद्दा सर्वोच्चमा दर्ता

चारजना पूर्व प्रधानन्यायाधीशविरुद्धको अवहेलनासम्बन्धी मुद्दा सर्वोच्चमा दर्ता

अदालतमा विचाराधीन मुद्दा प्रभावित गर्नेगरी विज्ञप्ति प्रकाशित गरेको भन्दै चारजना पूर्व प्रधानन्यायाधीशविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा सर्वोच्च अदालतमा दर्ता भएको छ ।

अधिवक्ता लोचन भट्टराई र धनजित बस्नेतले पूर्व प्रधानन्यायाधीशहरूविरुद्ध पेश गरेको अदालतको अवहेलनासम्बन्धी मुद्दा बुधवार दर्ता भएको सर्वोच्चका सञ्चार विज्ञ किशोर पौडेलले लोकान्तरलाई जानकारी दिए ।

उनीहरूले पूर्व प्रधानन्यायाधीश मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता गरेका हुन् । मंगलवार नै निवेदन दिएपनि बुधवार मात्र रिट दर्ता भएको हो । न्यायिक आचरणविपरीत पूर्व प्रधानन्यायाधीशहरूले विज्ञप्ति जारी गरेको भन्दै चर्को आलोचना भएको थियो । 

रिट निवेदकले पूर्व प्रधानन्यायाधीशहरूले अदालतमा विचाराधीन मुद्दामा वक्तव्य जारी गरेर हस्तक्षेप गरेको जिकिर गरेका छन् । 

मंगलवार पूर्व सभामुख दमननाथ ढुंगानाविरुद्ध पनि अदालतको अवहेलना मुद्दा दर्ता भएको छ ।

ढुंगानाले संविधानको भावनाविपरीत सर्वोच्चले प्रतिनिधि सभा विघटनको फैसला गरे न्यायाधीशलाई सडकबाट तान्ने अवस्था आउने अभिव्यक्ति दिएका थिए । 

सर्वोच्चमा मंगलवार नै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको छ ।

वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीप्रति लक्षित गर्दै वृद्ध वकिललाई अदालतमा लगेर ‘तमासा’ गरेको भन्ने ओलीको अभिव्यक्तिले अदालतको अवहेलना भएको भन्दै अधिवक्ता कुमार शर्मा आचार्यले अवहेलना मुद्दा दर्ता गरेका हुन् । 

प्रधानमन्त्री ओलीले भने आफूले भण्डारीलाई अपमान गर्नेगरी केही नबोलेको सोमवार दाङमा आयोजित कार्यक्रममा बताएका थिए । 

यसअघि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा प्रधानमन्त्रीविरुद्ध अवहेलनाको मुद्दा चलाउन माग भएपनि जबराले पूर्वप्रधानमन्त्रीहरूले समेत बोलिरहेकाले कति जनालाई तान्ने भनेर प्रश्न गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्