
अमेरिकाका राष्ट्रपति जो बाइडनले जलवायु परिवर्तनको सामना गर्नका लागि क्रान्तिकारी प्रस्तावसहितको क्रान्तिकारी घोषणा बुधवार गर्ने भएका छन् ।
सीमान्तीकृत समुदाय र अल्पसंख्यक जातिहरूले विश्व तापक्रम वृद्धिको दुष्परिणाम भोग्नुपरेको भनी उक्त प्रस्तावले उल्लेख गर्नेछ ।
कार्यभार सम्हालेको पहिलो दिन बाइडनले पेरिस जलवायु सम्झौतामा अमेरिकालाई पुनः प्रवेश गराएका छन् । उनले संघीय सरकारलाई प्रदूषणका कारण सबभन्दा बढी मारमा परेका अल्पसंख्यक समुदायमा लगानी गर्न निर्देशन दिने द वाशिङटन पोस्टले खबर दिएको छ ।
वातावरणीय न्यायसम्बन्धी ह्वाइट हाउस अन्तर्निकाय परिषद् गठन गर्ने एक कार्यकारी आदेशमा पनि उनले हस्ताक्षर गर्नेछन् ।
उनले तेल र ग्यासको लीज गर्न प्रतिबन्ध लगाउने घोषणा पनि गर्नेछन् ।
यस दशकको अन्त्यसम्ममा देशको ३० प्रतिशत सार्वजनिक भूमि र जलक्षेत्र संरक्षण गर्ने प्रतिबद्धता पनि उनले गर्नेछन् ।