०७ असार २०८३, आइतबार

१६ घन्टापछि निभ्यो आगो, गाउँ सखाप, २६ घर जले, १६७ जनाको बिचल्ली

माघ १५, २०७७
१६ घन्टापछि निभ्यो आगो, गाउँ सखाप, २६ घर जले, १६७ जनाको बिचल्ली

जुम्ला : तिला गाउँपालिका–७ गोठीगाउँमा मंगलबार साँझ आगलागी हुँदा २६ घर जलेर नष्ट भएका छन् । चार, पाँच वटा घर मात्रै जोगिएका छन् । उक्त घटनाका कारण १ सय ६७ जनाको बिचल्ली भएको छ । ३७ गाईगोरु र २६ भेडाबाख्रा मरेका छन् । १ लाख ५० हजार नगद जलेको छ । सँगै धेरै खरायो, कुखुरा मरेको जानकारी स्थानीयले दिएका छन् ।

एक्कासि आगो फैलिएपछि घरबाट कसैले केही निकाल्न नपाएको स्थानीय लालबहादुर रोकायले बताए । ‘सबै चिज हेर्दाहेर्दै आँखै अगाडि जल्यो । गोठमा भएका गाईगोरु पनि भित्रै मरे ।भेँडा, बाख्रा, कुखुरा, खरायो पनि भित्रै मरे । अन्न पात पनि सबै जल्यो । अब त न खाने गाँस छ न बस्ने बास छ न लगाउने लत्ताकपडा छ’, उनले भने, ‘बस्ती एक्लै भएकाले अरू गाउँमा बस्न जान पनि सम्भव छैन । चिसो धेरै छ, बालबच्चालाई कसरी पाल्ने बिजोग भएको छ ।’

भीम रोकायको घरमा लागेको आगो एक घण्टामै गाउँभरि फैलिएको स्थानीय बताउँछन् । स्थानीय परेल रोकायका अनुसार एक्कासि ‘आगो’ ‘आगो’ भन्ने आवाज आएपछि आफू घरबाहिर निस्किँदा आगोको मुस्लो देखिएको बताए । आफूले गाउँले बोलाउँदा बोलाउँदै आगो गाउँभरि फैलिएको जानकारी उनले दिए ।

१६ घण्टाको अथक प्रयासपछि आगो बुधबार बिहान ११ बजे मात्र आगो नियन्त्रणमा आएको खलंगा बजारका प्रहरी निरीक्षक नवीन थापामगरले बताए । खलंगाबाट प्रहरी निरीक्षक मगरको कमान्डमा १५ र प्रहरी चौकी रारालिहीबाट प्रहरी नायब निरीक्षक झुपेन्द्रबहादुर शाहीको कमान्डमा तीन र प्रहरी चौकी कुडारीबाट प्रहरी जवान नरेन्द्र देउवाको कमान्डमा तीन जनाको टोली परिचालन भएका थिए । आगलागी भएको एक घण्टापछि घटना थाहा पाएर टोली तयार गरी आउँदा पनि राति ९ बजे मात्रै अग्निनियन्त्रक टोली घटनास्थल पुगेको थियो । तर, आगो गाउँभरि फैलिएको आगो निभाउन गाह्रो भएको उनले बताए ।

घरका छाना काठका र छानाभित्र घास राखेकाले आगो फैलिएको जनाइएको छ । गाउँका बासिन्दा हिउँदमा चिसो छल्न बेसी झर्ने र गाउँमा केही कुरुवा मात्रै बस्ने भएकाले मानवीय क्षति हुनबाट जोगिएको पाइएको छ  ।

भौगोलिक विकटताका कारण स्थानीय प्रशासनले राहत पीडितसम्म पु¥याउन सकेको छैन । प्रदेश सरकारले हेलिकप्टरमार्फत राहत पुर्‍याउने भनेपछि त्यसमै जिल्लाको राहत लैजाने तयारी गरेकोमा हेलिकप्टरले उडान लिनै सकेन । जुम्लाका  प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बिहीबार हेलिकप्टर नआए पैदल गएर भए पनि राहत पुर्‍याउने जानकारी दिए । अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाश उपाध्यायले खबर लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्