
बिहीबार राजधानीबाट प्रकाशित राष्ट्रिय दैनिकले कोरोनाविरुद्धको खोप अभियान सुरु भएको सहित विभिन्न समाचारलाई पहिलो पृष्ठमा प्रकाशित गरेका छन् । कान्तिपुर दैनिकले कोरोनाविरुद्धको खोप अभियान सुरु भएको पहिलो दिन बुधबार ९ हजार ७४२ जनाले खोप लगाएको खबर छापेको छ । समाचारमा प्रधानमन्त्रीले तीन महिनाभित्रै सबै नेपालीलाई खोप लगाइसक्ने भनि घोषणा गरेको पनि उल्लेख छ । पत्रिकाका अनुसार सबै नेपालीलाई चार चरणमा खोप लगाइन्छ।
पहिलो चरणमा स्वास्थ्य र सामाजिक समूह (३ प्रतिशत अर्थात ९ लाख ११ हजार ९४२ जना), दोस्रो चरणमा ५५ वर्षमाथि,४०–५४ उमेर समूहका दीर्घरोगी र प्रवासमा दीर्घरोगी कामदारसहित (१७ प्रतिशत अर्थात ५१ लाख ६४ हजार २६९ जना), तेस्रो चरणमा ४०–४५ वर्ष उमेर (९.५५ प्रतिशत अर्थात २९ लाख १ हजार १०४ जना) र अन्तिम चरणमा १५–३९ वर्ष समूह (४२.७ प्रतिशत अर्थात १ करोड २७ लाख ८० हजार ४८ जना) लाई खोप लगाइनेछ ।
कान्तिपुर दैनिकमै ‘अभिव्यक्ति स्वतन्त्रता निषेध गर्न अवहेलनाको अस्त्र’ शीर्षकमा समाचार छापिएको छ । समाचारमा प्रतिनिधिसभा विघटन विरुद्ध नागरिक स्तरमा आवाज बुलन्द हुँदै गएको बेला त्यसलाई निरुत्साहित गर्न चार पूर्वप्रधानन्यायाधीशविरुद्ध सर्वोच्च अदालतमा अदालतमा निवेदन दर्ता भएको उल्लेख गरिएको छ ।
कान्तिपुर दैनिकमै जुम्लाको मार्सी चामल अब ‘नेपाल फुड’ ब्रान्ड बनेको समाचार छापिएको छ । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले नै मार्सीलाई ब्रान्डिङ गरेको समाचारमा उल्लेख छ ।
नागरिक दैनिकले प्रतिनिधिसभा विघटनको कदमले संविधानको प्रस्तावना नै प्रभावित भएको बहसकर्ताको जिकिर रहेको खबर छापेको छ । सर्वोच्चमा चलिरहेको बहसका क्रममा वरिष्ठ अधिवक्ता युवराज संग्रौलाले विघटनका कारण संविधानका थुप्रै धारासहित प्रस्तावना नै प्रभावित भएको जिकिर गरे ।
नागरिक दैनिकमै खोप पाएपछि स्वास्थ्यकर्मीहरूमा खुसीयाली छाएको समाचारका साथै सरकार गम्भीर नभएर अभियानका क्रममा अनेकन चुनौति रहने आशयको समाचार पनि छापिएको छ । यस्तै नागरिकले ‘आशाको आरम्भ’ शीर्षकको सम्पादकीय समेत छापेको छ ।
नागरिकमै ‘मुलुक फेरि अँध्यारोतर्फ उन्मुख’ शीर्षकमा समाचार छापिएको छ । समाचारमा भनिएको छ–प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको असंवैधानिक कदमको विरोधमा राजनीतिक दलहरु सडकमा पुगेका छन् । वैशाखमा निर्वाचन भएन भने असारसम्म लम्ब्याउन सकिन्छ तर प्रतिनिधिसभा विघटन भएको ६ महिनाभित्र निर्वाचन नभए के हुन्छ ? प्रधानमन्त्री केपी ओलीले राजीनामा पनि नदिने र चुनाव पनि नगराए त्यसपछिको अवस्था कस्तो होला ?’
जुम्लाको तिला गाउँपालिका–७ गोठीगाउँमा मंगदलबार साँझ भएको आगलागीबाट २६ घर जलेको खबर अन्नपूर्ण पोस्ट दैनिकले मुख्य समाचार छापेको छ । सो ठाउँमा रहेकामध्ये आगलागीबाट ४–५ वटा घरमात्रै जोगिएको समाचारमा उल्लेख छ । उक्त घटनाका कारण १६७ जनाको बिचल्ली भएको छ । ३७ गाईगोरु र २६ भेडाबाख्रा पनि मरेका छन् । सँगै धेरैे खरायो र कुखुरा मरेका छन् । एक्कासि आगो फैलिएपछि घरबाट कसैले केही निकाल्न नपाएको स्थानीय लालबहादुर रोकायाले बताए ।
अन्नपूर्ण पोस्टमै नेकपा विभाजनमा कतै नलागेका नेता वामदेव गौतमले पार्टी एकताको राष्ट्रिय अभियान घोषणा गरेका छन् । गौतमले दुई समूहमा बाँडिएका केपी शर्मा ओली र प्रचण्डलाई मिलाउने ताकत आफूसँग रहेको दावी गरेका छन् ।
सरकारी अखबार गोरखापत्रले खोप अभियानले आम नागरिकमा उत्साह जागेको भन्दै मुख्य समाचार छापेको छ । यस्तै राष्ट्रपति विद्यादेवी भण्डारीको खोप अभियान सुरु भएपछिको सन्देशलाई पनि पहिलो पृष्ठमै छापिएको छ ।
रौतहटको फरहदवामा जिउँदै मान्छेलाई इँटाभट्टामा पोलेर हत्या गरेको जघन्य अपराधमा पक्राउ परेका पूर्वमन्त्री मोहम्मद अफताब आलम अहिले पुर्पक्षका लागि काठमाडौंको नख्खु जेलमा छन् । तर, पैसा र प्रभावले जिल्लामा उनको आतंक र त्रास अहिले पनि उस्तै रहेको खबर नयाँ पत्रिका दैनिकले छापेको छ ।
आफूविरुद्ध जाहेरी दिने र सरकारी साक्षी बस्नेहरूलाई आलमले डर, त्रास र आर्थिक प्रलोभन देखाएर प्रभावित गरिरहेका छन् । आलमविरुद्ध जाहेरी दिएका सर्लाही गोडैलाका ६० वर्षीय शेख सफी अहमदले पनि आफ्नो बयान फेरेका छन् । यसअघि भट्टामा कोचेर हत्या गरिएका युवाकी पत्नी र ससुराले पनि आलमको दबाब र प्रभाव थेग्न नसकेर बयान फेरेका थिए ।
पहिलो संविधानसभा निर्वाचनमा बुध कब्जा गर्ने योजनासहित अफताब र उनका भाइ महताबले बम बनाउन भारतबाट कालिगड नै मगाएका थिए । समाचारमा भनिएको छ–आलमविरुद्धको मुद्दाका सरकारी साक्षीलाई अंगरक्षक दिन अदालतले आदेश दिए पनि प्रहरीले दिएको छैन । एकजना साक्षीलाई दिइएको अंगरक्षक पनि फिर्ता गरिएको छ । पीडितको पक्षमा पैरवी गर्ने अधिवक्तालाई पनि ज्यान मार्ने धम्की आएपछि प्रशासनमा उजुरी गरेका छन् ।’