
पाकिस्तानका एक विमानचालकले उडानका क्रममा एक यूएफओ देखेको दाबी गरेका छन् ।
यूएफओ भनेको अनआइडेन्टिफाइड फ्लाइङ अब्जेक्ट अर्थात् पहिचान नखुलेको उडिरहेको वस्तु हो । पाकिस्तान इन्टरनेसनल एयरलाइन्सका ती पाइलटले आकाशमा निकै चम्किलो यूएफओ देखेको बताए ।
जियो न्युजले पाकिस्तानी पाइलटलाई उद्धृत गर्दै दिएको खबरअनुसार, लाहौरबाट कराचीसम्मको उडानमा रहीम यार खान भन्ने ठाउँनजिक यूएफओ देखिएको हो ।
यसको भिडियो पनि रेकर्ड गरिएको छ ।
सूर्यको प्रकाशमा पनि उक्त यूएफओ चम्किएको देखिएको थियो । यस्तो चम्किलो वस्तु देखिनु दुर्लभ दृश्य भएको बताइएको छ ।
ती पाइलट बाहेक रहीम यार खानका स्थानीयहरूले पनि चम्किलो यूएफओको भिडियो खिचेका छन् ।
घटना पाँच दिनअघि अपराह्न चार बजे भएको हो । यो यूएफओ नै हो कि अरू कुनै वस्तु हो भन्ने स्पष्ट छैन ।
पाकिस्तानी पाइलटको दाबीपछि संसारभरि पुनः एकपटक एलियनहरूको अस्तित्वका विषयमा अनुमान गरिन थालेका छन् । इजरायलको भूउपग्रह कार्यक्रमका जनक मानिने वैज्ञानिक इशेदले केही दिनअघि
एलियनहरू पृथ्वीमा रहेको र मंगल ग्रहमा अड्डा बनाइरहेको बताएका थिए । एलियनहरूले अमेरिका र इजरायलसँग सम्झौता गरेको दाबी पनि उनले गरेका थिए ।