२३ जेठ २०८३, शनिबार

सर्पलाई ‘नाग देवता’ भन्दै १२ दिनदेखि पूजा गर्नेको घुइँचो

माघ १५, २०७७
सर्पलाई ‘नाग देवता’ भन्दै १२ दिनदेखि पूजा गर्नेको घुइँचो
प्रतिकात्मक तस्वीर

महोत्तरीको बलवा नगरपालिका–११ रौजागाउँमा गोमन सर्पलाई नाग देवता भन्दै पूजा आराधना गर्न थालिएको छ ।

रौजाको एकै स्थानमा विगत १२ दिनदेखि गोमन सर्प देखिन थालेपछि त्यसलाई ‘नाग देवता’ भन्दै स्थानीयले पूजाआजा गर्दै आएका छन् ।

सो सर्पलाई स्थानीयले नाग देवता भन्दै पूजाआजा गर्न थालेको स्थानीय गुलाम साहले बताए ।

गाउँ नजिकैको वनछेऊ सतलाल राउतको खेतमा रहेको दुलोबाट सधैं दिउँसो १२ बजेपछि निस्कने र बेलुका ४ बजेतिर पुनः सोही दुलोभित्र पस्ने गरेको सो सर्पलाई वरपर छिमेकी गाउँबाट पनि हजारौं मानिस हेर्न र पूजाआजा गर्नका लागि आउने गरेको स्थानीय जीतेन्द्र मण्डलले बताए ।

सो सर्प निस्कनेबित्तिकै चारैतिरबाट हेर्नेहरुले घेरिदिने र नजिकमा जाँदा पनि कसैलाई केही नगर्ने गरेको कारण सबैले त्यसलाई नाग देवता भन्दै पूजाआजा गर्न थालेको स्थानीय वीरेन्द्र यादवले बताए । सो सर्पलाई स्थानीयले कचौरामा दूध खान दिने गरेका छन् भने पूजाआजा गर्नेहरूले फूल, तुलसी, बेलपत्र लगायतका वस्तु र फलफूल पनि चढाउने गरेको स्थानीय बताउँछन् ।

शुरूशुरूमा वनमा घाँस काट्न गएका महिलाको एक समूहले सो सर्पलाई देखेका थिए भने उनीहरू डराएर भागेका थिए । तर पछि सर्प केही नगरेको र नभागेपछि महिलाले गाउँलेलाई सो कुरा सुनाएका थिए ।

त्यसै दिनदेखि बिहीवार १२ औं दिनसम्म दैनिकरूपमा सो सर्प निस्कने गरेको र स्थानीयसहित छिमेकी गाउँका समेत व्यक्तिहरू पूजाआजा गर्न घुइँचो लाग्ने गरेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्