
नेकपा प्रचण्ड–नेपाल समूहले प्रतिनिधिसभा विघटनविरुद्ध बिहीवार बुटवलमा विरोध प्रदर्शन गरेको छ ।
विरोधसभा गर्नुअघि नेकपाले बुटवल बजारमा विरोध प्रदर्शन गरेको हो ।
पार्टीको केन्द्रीय विरोध कार्यक्रम अन्तर्गत लुम्बिनी प्रदेश स्तरीय विरोधसभा बिहीवार हुँदैछ ।
बुटवलको पुष्पलाल पार्कमा हुने सभालाई पार्टीका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, नेताहरू युवराज ज्ञवाली, घनश्याम भुसाल, वर्षमान पुन, चक्रपाणि खनाल लगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।
विरोध सभाअघि बुटवलका विभिन्न ठाउँबाट र्याली गरिएको संघर्ष समितिका संयोजक ठाकुर गैरेले जानकारी दिए ।
सभामा प्रदेशका १२ वटै जिल्लाबाट प्रतिनिधिमूलक नेता कार्यकर्ता सहभागी रहेका गैरेले बताए । प्रदर्शनमा तोकिएको नारा मात्र लगाउन कार्यकर्तालाई निर्देशन दिइएको प्रचार प्रमुख सिद्धिचरण भट्टराईले जानकारी दिए ।



