
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री वर्षमान पुनले मन्त्रीद्वय रामबहादुर थापा ‘बादल’ र टोपबहादुर रायमाझीलाई ढेडु बाँदरको संज्ञा दिएका छन् ।
प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाले बुटवलमा आयोजना गरेको विरोध कार्यक्रमलाई सम्बोधन गर्दै नेता पुनले माओवादी जनयुद्धलाई कुहिएको फर्सी र सहभागीलाई बाँदर भनेको भन्दै प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीप्रति आक्रोश व्यक्त गरेका छन् ।
नेता पुनले कुहिएको ठूलो फर्सी र ढेडु बादर ओलीको आसपासमा रहेको टिप्पणी गरेका छन् । ‘जसले तपाईंलाई प्रधानमन्त्रीको कुर्सीमा पुर्यायो, त्यहीँ जययुद्धमा हिँडेकालाई कुहिएको फर्सी भन्ने ? जनयुद्धमा लागेकालाई बाँदर भन्ने ? त्यसो हो भने ओलीको दायाँबायाँ रहेका रामबहादुर थापा ‘बादल’ र रायमाझी नामका ढेडु बाँदर हुन्, अब तपाईंको गुट कसरी बन्छ ?’ पुनले भने ।
नेता पुनले प्रचण्ड र माधव नेपाल रहेको पार्टी नै नेकपाको मूलधार भएको दावी गरेका छन् ।