
महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिका–४ सुगा गाउँमा बिहीवार दिउँसो आगलागी हुँदा ३ घर जलेका छन् ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रकाश विष्टका अनुसार घुर ताप्ने क्रममा हावा चलेर आगोको झिल्को उडेर घरमाथि पर्दा स्थानीय महेन्द्र ठाकुर, रामप्रगास ठाकुर र बौवालाल ठाकुरको फुसको घर जलेर लाखौंको क्षति भएको छ ।
आगलगीमा महेन्द्रको घरभित्रको नगद, अन्न, लत्ताकपडा, भाँडाकुडासहित एउटा गाई जलेर मरेको छ भने २ वटा गाईलाई आगोले पोलेको छ ।
रामप्रगास र बौवालालको घरभित्र रहेका नगद, अन्नपात, लत्ताकपडा र भाँडाकुडासहित जलेर नष्ट भएका छन् ।
आगलागीबाट ३ लाख २० हजार मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगलागी नेपाल प्रहरी, सशस्त्र प्रहरी र जलेश्वर नगरपालिकाको बारुण यन्त्रको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।