
शुक्रबार राजधानीबाट प्रकाशित पत्रपत्रिकाले प्रधानमन्त्रीलाई सर्वोच्च अदालतले बोलाएको, देशमा भ्रष्टाचार बढेकोलगायतका विभिन्न समाचारलाई पहिलो पृष्ठमा छापेका छन् । कान्तिपुर दैनिकले ‘फरार अभियुक्तलाई धमाधम फूलमाला’ शीर्षकमा समाचार छापेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस १५ गते सुदूरपश्चिमस्तरीय कार्यकर्ता भेलामा पूर्वजनमुक्ति सेनाका कमाण्डर कालीबहादुर खामलाई एकाएक सम्झिए । सार्वजनिक कार्यक्रममा खामको स्मरण गर्नुअघि ओलीले उनलाई बालुवाटारमा भेटिसकेका थिए । त्यसपछि पनि ओली र खामबीच पटक पटक भेट भइसकेको छ । आम पूर्वमाओवादीका लडाकूमात्र नभएर व्यापारी रामहरि श्रेष्ठको हत्यामा अदालतले दोषी किटान गरेका व्यक्ति पनि हुन् ।
यसैगरी रातो पासपोर्ट बेचेको अभियोग लागेका सर्लाहीका शिवपुजन राय दुई साताअघि ओली नेतृत्वको नेकपामा प्रवेश गरे । २०७४ सालको निर्वाचनमा तत्कालीन माओवादीमा प्रवेश गरेर उनले प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिएका थिए । त्यतिबेला रातो पासपोर्ट काण्डमा मुछिएकै भएर निर्वाचन आयोगले उम्मेदवारी खारेज गरिदएको थियो ।
यसैगरी विस्फोटक पदार्थसम्बन्धी मुद्दामा सप्तरी जिल्ला अदालतले १८ महिना कैद सजाय सुनाएपछि फरार रहेका अभियुक्त रामनारायण यादवलाई उपप्रधानमन्त्री ईश्वर पोखरेलले माघ १३ गते फूलमाला लगाएर स्वागत गरे । यस्तै बबन सिंह पनि नेकपामा प्रवेश गरिसकेको कान्तिपुरमा खबर छ । उसो त ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा जेल बसेर २०७५ मा सरकारबाट माफी पाएपछि जेलमुक्त भएका बालकृष्ण ढुङ्गेलपनि अहिले ओली समूहले गर्ने कार्यक्रममा झुल्किन्छन् । सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पार्वत गुरुङले रुपान्तरण हुन खोज्ने जोकोहीलाई आफूहरुले स्वागत गर्ने बताए ।
कान्तिपुरमै कोरोना संक्रमणका कारण लकडाउनसँगै बन्द गरिएका चीन र भारततर्फका ३० वटा नाकालाई सरकारले खुला गरेको खबर छापेको छ । गृह मन्त्रालयले मन्त्रिपरिषद् निर्णयका आधारमा बिहीबार जिल्ला प्रशासन कार्यालयलाई नाका खुलाउन सर्कुलर जारी गरेको हो ।
यसअघि १४ नाका खोलिएकोमा माघ ११ को मन्त्रिपरिषद्ले थप १६ नाका खुलाउने निर्णय लिएको हो । भारततर्फका धेरै नाका बन्द हुँदा सीमा नाकाका नेपालीले सास्ती भोग्दै आएका थिए ।
यस्तै राज्यका प्रमुख अंगहरुमा निजी स्वार्थका लागि पदको दुरुपयोग भएकाले नेपालमा भ्रष्टाचार बढ्दो क्रममा रहेको देखिएको खबर पनि कान्तिपुरमै छापिएको छ ।
ट्रान्सपरेन्सी इन्टरनेशनले बिहीबार सार्वजनिक गरेको सन् २०२० को भ्रष्टाचारसम्बन्धी रिपोर्टमा नेपाल गतवर्ष भन्दा एक कम अंक पाएर चार स्थान तल झरेको छ । गत वर्ष सयमा ३४ अंक पाएको नेपाल सुशासनको वरियता क्रममा ११३ औं स्थानमा थियो । यसपटक ३३ अंक पाएर ११७ औं स्थानमा छ ।
प्रतिवेदनले मुलुकमा भ्रष्टाचार नियन्त्रणमा गत वर्षको तुलनामा कुनै प्रयास नभएको, बरु केही क्षेत्रमा भ्रष्टाचार बढ्दो क्रममा रहेको उल्लेख छ । कान्तिपुर पत्रिकाले सरकार, संसद र न्यायालयमा भ्रष्टाचार बढेको समाचार पनि छापेको छ ।
गोरखापत्र दैनिकले शहिद दिवसको अवसरमा राष्ट्रपतिद्वारा शहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेको, प्रधानमन्त्री केपी ओलीको कार्यक्रमको भाषण, बेपत्ता व्यक्तिका परिवारलाई बर्दियामा परिचयन पत्र वितरण गरिएको, प्रतिनिधिसभा विघटनबारे सर्वोच्च अदालतमा जारी बहसलगायतका समाचारलाई पहिलो पृष्ठमा छापेको छ ।
बिहीबार नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुने सङ्ख्या शून्य रह्यो । यसअघि दैनिक पाँचदेखि २० जनासम्म सङ्क्रमितको मृत्यु हुने गरेको थियो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरस सङ्क्रमणबाट कोही व्यक्तिको पनि मृत्यु नभएको जानकारी दिए ।
हालसम्म नेपालमा दुई हजार २० जना सङ्क्रमितको मृत्यु भइसकेको छ । गोरखापत्रमा खबर छ ।
नयाँ पत्रिका दैनिकले अदालती बहसलाई तमासा भनेकोमा प्रधानमन्त्रीलाई लिखित जबाफसहित अदालतमा उपस्थित हुन आदेश दिएको खबर छापिएको छ । यस्तै प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्ने कदमप्रति असन्तुष्टि जनाउँदै विज्ञप्ति निकाल्ने चार पूर्वप्रधानन्यायाधीशलाई पनि छाडिएको खबर पत्रिकामा छापिएको छ ।
सोही पत्रिकामा राजनीतिक रूपमा विभाजित नेकपा कानुनी रूपमा विभाजित हुने प्रक्रिया लम्बिएपछि निर्वाचन आयोगले थप छलफल सुरु गरेको खबर छापेको छ । विभाजनलाई तत्काल कानुनी मान्यता दिन नमिल्ने गरी आइतबार निर्णय गरेको निर्वाचन आयोगले शुक्रबार नेकपाका दुवै समूहलाई छलफलका लागि बोलाएको हो ।
दुवै समूहले आयोगको पछिल्लो निर्णयमा टेकेर शुक्रबार बोलाइएको बैठकमा आ–आफ्नो अडान राख्ने तयारी गरेका छन् । आयोगले दुवै समूहका पाँच–पाँचजना नेतालाई शुक्रबार बिहान साढे ११ बजे छलफलका लागि बोलाएको छ । नेकपा विवाद नटुंग्याएसम्म चुनावका लागि दल दर्ताको प्रक्रिया अगाडि बढाउन आयोगलाई समेत कठिन छ । मतदाता नामावली संकलनलगत्तै दल दर्ताको सूचना प्रकाशन गर्ने तयारीमा लागेको आयोगले विभाजनको किचलोमा रुमल्लिएका नेकपाका दुवै समूहलाई छलफलका लागि बोलाएपछि फरक–फरक कार्यसूची लिएर जाँदैछन् ।
यसैगरी १३५ स्थानीय तह निमित्तको भरमा चलिरहेको खबर पनि नयाँ पत्रिकाको पहिलो पृष्ठमा छापिएको छ ।
विष सेवनका कारण पश्चिम नवलपरासीको सरावल गाउँपालिका–५ धनगडवामा एकै परिवारका तीन जनाको मृत्यु भएको खबर अन्नपूर्ण पोस्टले छापेको छ। ३५ वर्षीया अनिता चौधरीले बुधबार राति छोरीहरू १२ वर्षीया नेहा र १० वर्षीया हेमालाई विष पिलाएर आफूले पनि पिएको अनुसन्धानमा देखिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी राजु लामाले बताए। अवहेलना मुद्दामा प्रधानमन्त्रीलाई सर्वोच्चले बोलाएको खबर पनि प्रमुखताका साथ अन्नपूर्णले छापेको छ ।
नागरिक दैनिकले प्रचण्ड–नेपाल समूहले बुटवलमा गरेको कार्यक्रमको भाषणलाई प्रमुख समाचार बनाएको छ भने प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा संवैधानिक इजलासमा जारी बहसलगायतका समाचार पनि नागरिकको पहिलो पृष्ठमै छापिएको छ ।