१९ असार २०८३, शुक्रबार

अन्यौलतर्फ अग्रसर राजनीति : लोकतन्त्रको लगाम कस्ने कि ?

माघ १६, २०७७
अन्यौलतर्फ अग्रसर राजनीति : लोकतन्त्रको लगाम कस्ने कि ?

जीवनको तात्पर्य नबुझेको अर्थात् जन्मको अर्थ नबुझेको मान्छेसँग जिन्दगीको दैनिक र नियमित कार्यसूची हुँदैन । जसले आफ्नो जन्मको माने बुझ्छ, उसको सूत्रबद्ध क्यालेन्डर हुन्छ र उ त्यही अनुरूप चल्छ । 

लोभ र आशक्तिभन्दा माथि उठेको जीवन चरित्र हुन्छ । अक्सर यस्ता मान्छे सन्त वा दार्शनिक हुन्छन् । तर यस्तो उन्नत चेतना भएका कतिपय मान्छे राजनीतिमा पनि हुन्छन् ।

तिनैमध्ये कोही मण्डेला बन्छन्, कोही गान्धी र कोही बीपी । पिता पुर्खा, आफ्नो जातीय समुदाय वा आफैंले अरुबाट भोगेको प्रताडना वा उपेक्षाको पृष्ठभूमिमा पनि कतिपय पात्रहरू पैदा हुन्छन् र ती पात्रले आफ्नो भोगाइ, समाजमा व्याप्त उत्पीडन र शासन प्रणालीले थोपरेको विभेदलाई अन्त्य गर्न सम्पूर्ण जीवन समर्पित गर्दछन् र सफलता समेत पाउँछन् ।

कतिपय पात्र भने मानव सभ्यताको कलंक हिटलर, स्टालिन, पोलपोट र मुगावे आदि बन्छन् । विकृत मानसिकता र अपरिमित कुण्ठा बोकेर समाज व्यवस्था र समग्र मानव जातिको विरुद्धमा आफूलाई प्राप्त अवसरको चरम दुरुपयोग गर्छन् । यस्ता छद्मभेषी पात्र संसारभर पाइन्छन् । 

मानव समाजले यस्ता पात्रको दुर्व्यवहार सदियौंदेखि झेल्दै आएको छ । थाहा छैन, अझै कति झेल्नुपर्ने हो ?

यतिबेला समग्र नेपाल अथाह पीडामा छ । देशको मूल कानूनलाई क्षतविक्षत बनाएर मुलुकलाई विधिविहीनतातर्फ धकेल्ने प्रयत्न भएको छ । संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि देशको मुहार बदलिएला र जनताले सुख पाउँलान् भन्ने आशामा बज्रपात भएको छ । 

नागरिक विवेक र चेतनालाई बन्धक बनाएर आफूखुशी शासन चलाउने अलोकतान्त्रिक प्रवृत्तिले शिर उठाउन खोजेको छ । नत्र शान्तिपूर्ण असहमति राख्न सडकमा ओर्लिएको प्रबुद्ध जमातमाथि पानीको फोहरा र लाठी बज्रँदैन्थ्यो । यो प्रवृत्ति नवपञ्चायती प्रवृत्ति हो । 

२०४६ साल र २०६२/६३ सालको जनआन्दोलनमा लाठी, अश्रुग्यास र पानीको फोहरा खाएको जमात आज फेरि त्यही नियति झेल्न बाध्य छ । यसको मतलब राजनीतिक प्रणालीले मात्रै काँचुली फेरेको रहेछ, प्रणाली चलाउने पात्रको चरित्र र प्रवृत्ति त उस्तै रहेछ । आफूसँग असहमति राख्नेहरूप्रति राज्यले गर्ने व्यवहार उस्तै भएपछि नयाँ तन्त्रको औचित्यमा प्रश्न उठ्छ कि उठ्दैन ?

यसको सिधा कारण नयाँ प्रणाली गलत र सर्वाधिक गलत पात्रको हातमा छ अर्थात् लोकतन्त्रको लगाम छद्मभेषी पात्रले समाएको छ र यस्ता पात्र नेपाली राजनीतिमा बग्रेल्ती छन् । राज्यको सबै तहमा यस्तै प्रवृत्तिको बोलावाला छ ।

संसारको मानचित्रमा रहेका विभिन्न देशहरू मध्येका आधाभन्दा बढी देशहरू अझैसम्म गरीबीको दुष्चक्रमा छन् । यसको कारण त्यहाँको राजनीति धुर्त र स्वार्थी राजनीतिज्ञहरूको फन्दामा पर्‍यो । अफ्रिकी, दक्षिण अमेरिकी र एसियाली देशहरूमा यो प्रवृत्तिले राजनीतिमा प्रभूत्व जमाउन पुग्यो । जनता र देशको नाममा राजनीति गरेका राजनीतिज्ञले आफ्नो जीवन मात्र बदले । हरेक निर्वाचनमा जनता अल्मल्याउन आकर्षक नारा र गुलियो आश्वासनबाहेक सत्तासीन दलहरूको कुनै कार्यसूची थिएन ।

चुनावी घोषणा पत्रमा उल्लेख भएका वाचा बन्धन देखाउने दाँत मात्रै भयो । राजनीति यति फोहोरी भयो कि विभिन्न कालखण्डमा पैदा भएका होनहार राजनीतिज्ञहरू एक्लो बृहस्पति साबित भए । आधुनिक नेपाल यस्तै दुष्चक्रको शिकार हुँदै आजसम्म घिस्रिरहेको छ । यसको एउटै मात्र कारण बेइमान राजनीतिज्ञ हुन्, जसमा राजा, राणा र राजनीतिक दल सबै पर्छन् । जनताबाट बारम्बार अवसर पाउँदा समेत निहीत स्वार्थमा मात्र केन्द्रित भएका यी सबै तागत सत्ताच्युत भएपछि गुलियो कुरा गर्न निकै माहिर छन् । नक्कली कुराले आफ्नो अयोग्यता ढाकछोप गर्ने कला यी सबैलाई राम्रोसँग थाहा छ । आफूबाहेक अरु सबैलाई खराब चित्रण गर्न सक्ने अद्भुत क्षमता छ । योबाहेक उनीहरूसँग कुनै पनि योग्यता छैन ।

नेपाल अहिले यस्तै पात्रको जञ्जालमा परेको छ । यस सन्दर्भमा एउटा प्रसंगको चर्चा गर्नु उपयुुक्त हुनेछ । केही दिनअघि पठन संस्कृतिलाई प्रबर्द्धन गर्ने उद्देश्यले एउटा सार्वजनिक समारोहको आयोजना गरिएको थियो । समारोहमा राजनीतिक दलकै हर्ताकर्ता मुख्य अतिथि थिए । कार्यक्रम छरितो थियो । आयोजकहरू वर्तमान प्रधानमन्त्रीको प्रभावका जस्ता लाग्दथे । देखिनका लागि स्वतन्त्र देखिए पनि वर्तमान सत्ताको तावेदारीले यस्तै कुरा दर्शाउँथ्यो । वक्ता धेरै थिएनन् तर मूल वक्ताको कुरा हाँसो उठ्दो थियो । उनले विषयवस्तुभन्दा प्रधानमन्त्रीको प्रशस्ती गाउनुलाई श्रेयस्कार ठाने र नेपालमा उनको शासन अभूतपूर्व रहेको चर्चा गर्दै केही समयमै नेपालले काँचुली फेर्न कुरा गरे ।

राज्यको उपल्लो तहका जिम्मेवार व्यक्तिको कुरा सुन्दा त्यहाँ सहभागी युवालाई पक्कै पनि निकै उदेक लाग्यो होला । कार्यक्रमको विषयवस्तुलाई प्रोत्साहित गर्दै नेपाली समाजमा पठन संस्कृतिलाई कसरी बढावा दिने भन्नेमा जोड दिनु आमन्त्रित वक्ताको कर्तव्य हुन्थ्यो तर त्यसो भएन । कारण आज नेपालमा सबैभन्दा बढी राजनीतिक क्षेत्रमा भएका व्यक्तिलाई पढाउनुपर्ने आवश्यकता देखिन्छ । उनीहरूलाई पढाउने मात्रै होइन, पढेको कुरा मनन गर्ने र त्यसको इमान्दार  पालना गर्ने बनाउनुपर्ने आवश्यकता टड्कारो छ । यो कुरा नेपालका प्रधानमन्त्रीसँग समेत गएर जोडिन पुग्छ । किनकि प्रधानमन्त्रीले आफू स्वयंले लेखेको कुरा पढेनन् र पढे पनि मनन् गरेनन् । योभन्दा ठूलो विडम्बना अरु के हुन सक्छ ?

नेपालको संविधान २०७२ मा लेखिएको कुरा अर्थात् प्रतिनिधि सभाको बिघटनको बाध्यकारी विकल्पको प्रयोग गर्ने सुविधा वर्तमान प्रधानमन्त्रीसँग नभएको कुरा स्वयं प्रधानमन्त्रीले पढेनन् र अक्षरमा आँखा दौडाए पनि मनन पटक्कै गरेनन् । त्यसैले नेपाल अहिले राजनीतिक अन्यौलतर्फ अग्रसर हुँदैछ । यति मात्र होइन, बेला न कुबेला नेपाली नागरिकलाई जीवन र जगतका अनेक आयाममा थरिथरिका प्रवचन र उपदेश दिने प्रधानमन्त्रीले बुझ्नुपर्थ्यो कि उपदेशकले नै सर्वप्रथम यी कुराको परिपालना गर्नु पर्दछ । हामी सबैलाई के कुरा राम्रोसँग थाहा छ भने लोकतन्त्रको प्राण विधिको परिपालनामा अडेको हुन्छ र यसको प्रथम पालनकर्ता स्वयं कार्यकारी प्रमुख हो ।

राजनीतिमा कतिपय मान्छेलाई लाग्न सक्छ कि २–४ पटक चुनाव जितेपछि पक्का नेता भइहालिन्छ । राज्यका २–४ ओहोदामा पुगेपछि त झन् राजनेता नै भइन्छ । योभन्दा ठूलो भ्रम अर्को हुन सक्दैन । जनताले राम्रोसँग नचिनेर चुनाव जिताएका पनि हुन सक्छन्, नत्र ठूलो ओहदामा पुगेको व्यक्तिको तस्वीर देख्दा जनताले किन धारे हात लगाउँछन् त ? टेलिभिजनमा अनुहार आउँदा किन च्यानल बन्द गर्छन् त ? यो आजको पेचिलो प्रश्न हो । नेपालको पछिल्लो राजनीतिले जनता साँच्चै आहत र व्यथित भएका छन् ।

राणाकालमा १ जना रैतीले आफ्नो काम गराउन सरकारी अड्डाको हाकिमलाई एउटा राडी उपहार वा घुस दिएछ । काम गराउन अरु पनि मान्छे लागेका रहेछन् । त्यही काम गराउन अर्को व्यक्तिले गाई नै घुस दिएछ । गाई दिनेको काम भएछ तर राडी दिनेको काम भएन । काम नभएको व्यक्तिले हाकिमलाई गुनासो गरेछ, मेरो काम किन भएन ? हाकिमले सहजै तर जालसाजीपूर्ण उत्तर दिएछ, तेरो राडी गाईले खाइदियो । जवाफ सुनेर राडी दिने व्यक्ति एक न दुई भएछ । निकै कोसिसपछि आफ्नो काम नभएको कारण पत्ता लगाएछ । यो प्रसंग किन उदृत गरिएको हो भने नेपालका प्रधानमन्त्रीले हिजोआज नेपाली जनतालाई दिने उत्तरहरू यस्तै छन् ।

संंविधान मिचियो भन्दा प्रधानमन्त्री भन्छन् – कहाँ मिचियो ? त्यतिले मात्र नपुगेर आफ्नो संविधान विरोधी कदमको ढाकछोप गर्न लोकतन्त्रमा जनतामा जानु सर्वाधिक लोकतन्त्र भन्न थालेका छन् । जनतामा जाने समय र तरिकाबारे संविधान स्पष्ट छ । नेपाली जनतालाई कसैले सिकाउनु पर्दैन ।

नेपालको मौजुदा राजनीतिक परिस्थितिको विवेचना गर्दा एउटा दुःखद निष्कर्षमा पुग्नुपर्ने हुन्छ । त्यो के भने राजा र राणाको दरबारिया खिचातानीमा विकृत भएको शासन व्यवस्थामा २००७ सालमा प्रजातन्त्रको स्थापनापछि पनि अपवादबाहेक गतिला राजनीतिज्ञहरू शासनमा पुगेनन् । अझ अत्यासलाग्दो संक्रमणकाल र अस्थिर राजनीतिको फाइदा उठाएर साँच्चै अगतिला व्यक्तिले राजनीतिको बागडोर सम्हाल्न पुगे । जसको परिणाम आजको परिस्थिति हो भन्दा कुनै अतिशयोक्ति हुने छैन । 

राष्ट्र निर्माणको दृढ संकल्प, सुनिश्चित कार्ययोजना र प्रस्ट कार्यसूची बेगर सत्तामा पुगेका राजनीतिज्ञको राजनीतिक अयोग्यता नेपाली समाजका निम्ति अभिशाप बन्न पुग्यो । यसैका नयाँ र धारावाहिक शृंखलाहरूको पटाक्षेप हो आजको राजनीति । आफैंले बनाएको विधि भत्काएर विधिकै गीता गाउनु र चुनावको एकतारे बजाउनु निकै हाँस्यास्पद देखिएको छ । संविधानको हूर्मत लिएर संविधानकै दुहाई दिनु बगरेले बुद्ध जयन्ती मनाउनु जस्तो मात्रै हो । यस्तो परिस्थिति धेरै दिन टिक्ने छैन ।

salt training

कमेन्ट गर्नुहोस्