
नेपालमा राजमार्गको होटल भन्नासाथ सबैको दिमागमा आउँछ – गुणस्तरहीन तथा बासी परिकार, फोहोर भान्छा, बासी र गुणस्तरहीन खानाको अस्वाभाविक मूल्य ...’ ।
त्यसैले कतिपय यात्रुहरू लामो यात्रामा पनि राजमार्गका होटलमा झट्ट पस्न पनि रुचाउँदैनन् ।
तर पृथ्वी राजमार्ग अन्तर्गत तनहुको आँबुखैरेनी र डुम्रेको बीच भाग वरादीस्थित राजमार्गको छेवैमा एउटा होटल छ, जुन राजमार्गका औसत होटलभन्दा नितान्त फरक छ ।
बाहिरबाट झट्ट हेर्दा राजमार्ग छेउका अन्य होटल जस्तै छ तर भित्र प्रवेश गर्दा केही फरक महसूस हुन्छ । खानाको परिकार पनि अलि बेग्लै स्वादमा ।
मुख्य ढोकाबाट भित्र पस्नेवित्तिकै सबैको नजर एउटा तस्वीरमा पर्छ, जसमा नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले नायिका गरिमा पन्तलाई अवार्ड दिँदै गरेको देख्न सकिन्छ । हो, उनै गरिमा पन्तका दाजु मनुराजाले सञ्चालन गरेका छन्, ‘अ गरिमा क्याफे एण्ड मनुराजा मस्र्याङ्दी फेमिली रेस्टुरेन्ट ।’ छोटकरीमा गरिमा क्याफे ।
तनहुँमा जन्मे हुर्केका मनुराजा पन्तले युरोपेली मुलुक साइप्रसमा होटल व्यवस्थापन (हस्पिटालिटी) को अध्ययन गरेर झण्डै १ दशक उतै बिताए । कमाइ राम्रै थियो तर मनुराजालाई स्वदेश फर्कन र यहीँ केही गर्न मन लाग्यो । उनले आफ्नै पुर्ख्यौली थलोमा आएर होटल शुरू गरे ।
‘विदेशमा आफूले सिकेको सीपलाई सदुपयोग गरौं भनेर यही पेशा अँगालें, म आफ्नो पेशा र कामबाट पूरै सन्तुष्ट छु,’ उनी भन्छन् ।
मनुराजाको होटल छेउछाउ कुनै ठूलो बजार छैन, न त अन्य ठाउँमा जस्तो बाक्ला होटल तर ग्राहकको कमी छैन । कमी मात्र होइन, कहिले काहीँ भीड लाग्छ । एकपटक पुगेका ग्राहक फर्की–फर्की आउँछन् । पोखरादेखि नारायणगढसम्ममा ग्राहक आउँछन् खाना खान ।
बिहान सबेरैदेखि मध्यरातसम्म आफैं खटिएका हुन्छन्, मनुराजा । ‘वान मेन आर्मी’ जस्तो । ग्राहकसँग सधैं हँसिलो व्यवहार । होटलको ढोका कहिल्यै बन्द हुँदैन र चोरीको समस्या पनि छैन । ‘नेगेटिभ भाइब्स भएको व्यक्ति मेरो कम्पाउण्डभित्र छिर्नै सक्दैन,’ आध्यात्मिक स्वभावका मनुराजा भन्छन्, ‘कहिलेकाहीँ मेरा ग्राहक आएर रातिमा ड्रिंकस् गरेर जान्छन्, पछि आएर पैसा दिन्छन् ।’ झण्डै–झण्डै विदेशकै जस्तो छ रेस्टुरेन्टको वातावरण ।
बिहान होटलभित्रै शारीरिक व्यायाम गरेर मनुराजा मस्र्याङ्दी नदी किनाराको अकेलादेवी मन्दिरको दर्शन गरी दिनको शुरूआत गर्छन् । राति २ बजेसम्म पनि उनी व्यस्त देखिन्छन् । सधै उस्तै हँसिलो र फुर्तिलो । अधिकांश परिचित ग्राहक भएकाले उनलाई धेरैले सम्बोधन गर्छन् ‘राजा’ ।
प्रचण्डदेखि बाबुरामसम्म ग्राहक
१२ वर्षसम्म युरोपको होटल लाइनमा काम गरेका मनुराजाको होटलमा सरसफाइको कमी छैन, यही कुराले ग्राहकलाई तान्छ । होटलको बाहिरपट्टि लोकल कुखुराका भाले बासिरहेका हुन्छन् । ग्राहकले छानेर खान सक्छन्, साथमा मस्र्याङ्दी नदीका माछा ।
लोकल भनेर ‘गिरिराज’ कुखुरा काटेर ग्राहक झुक्याउनेको बिगबिगी रहेको समयमा मनुराजाले भने त्यसो गर्दैनन् । ‘मेरा ग्राहक स्पेसिफिक भएकाले सकेसम्म अग्र्यानिक खाना खुवाउँछु, नभए छैन भन्दिन्छु । गिरिराजलाई लोकल भनेर बेचेर कमाएको पैसाले के सन्तुष्टि दिन्छ ?’ उनी भन्छन् ।
बरु ग्राहक फर्किन्छन् तर झुक्किनु पर्दैन । मस्र्याङ्दीको भनेर चितवनको माछा उनी बेच्दैनन् ।
राजमार्गको छेवैमा राखिएको होटलको बोर्डमा ८५ प्रतिशत ‘लोकल प्रडक्ट’ भनेर लेखिएको छ । ‘नून, मरमसलाबाहेक अधिकांश लोकल नै हो, ९५ प्रतिशत नै भनेर लेखे पनि फरक पर्ने केही होइन, त्यो लेखिरहनुपर्छ जस्तो लाग्दैन,’ मनुराजा भन्छन् । महंगा विदेशी मदिरा भए पनि ती खानाभन्दा ड्रिंक्सको क्याटगरीमा पर्छन् ।
नियमित ग्राहकले खानाका लागि अग्रिम जानकारी दिएका हुन्छन्, त्यसैले भोकै फर्किनु पर्दैन । ‘कोही नयाँ ग्राहक आयो भने भान्सामा खाना बसालेर साग टिप्न बारीमा जान्छु,’ उनले भने । राजमार्गको दुवैतर्फ उनको पुर्ख्यौली बारी छ, जहाँ होटललाई आवश्यक तरकारी उत्पादन हुन्छ ।
मनुराजाको होटलको ख्यातीका कारण त्यस्तै नामका नक्कली होटल खोल्न शुरू गरेका छन्, केही बन्द भइसके तर त्यसबाट उनलाई केही प्रवाह छैन । पृथ्वी राजमार्ग भएर हिँड्दा पूर्व प्रधानमन्त्री एवं नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’देखि अर्का पूर्व प्रधानमन्त्री तथा जसपा नेता डा. बाबुराम भट्टराईसम्म मनुको होटलका ग्राहक हुन् ।
पूर्व सभामुख कृष्णबहादुर महरादेखि कांग्रेस नेता रामचन्द्र पौडेलसम्मले मनुको होटलको स्वाद चाखिसकेका छन्, अन्य स्थानीय नेताहरूले पनि ।
‘प्रचण्डज्यूले मस्र्याङ्दीको माछा र अरिङ्गाल खुब रुचाउनु हुँदो रहेछ । नदीको लोकल माछामा अलिअलि हिलोको बास्ना आउँछ,’ उनले लोकान्तरसँग भने, ‘डा. बाबुराम भट्टराईले यहीँ बसेर पालुङटार औद्योगिक क्षेत्रको नक्सा कोर्नुभएको थियो ।’
लोकल कुखुराको भालेको मासु, मस्र्याङ्दीको माछा, आफ्नै बारीमा फलेको तरकारी उनकोमा पाइने खाना हुन् । लोकल कुखुरा, बट्टाइको अण्डा र जैतुनको तेल मिसाएर बनाइएको सलाद मनु मस्र्याङ्दीको ‘स्पेसल परिकार’ हो ।
काममा पूर्ण सन्तुष्टि
युरोपमा बन्दै गरेको पीआर (स्थायी बसोबास अनुमति) छाडेर नेपाल आए उनी । १ छोरा र १ छोरी काठमाडौंमा अध्ययनरत छन् । मनु भने मस्र्याङ्दी किनारामा एक्लै बिजनेश सम्हालिरहेका छन् ।
‘केही वर्षमा होटलको छेवैमा पौडी पोखरीसहित रिसोर्ट निर्माण गर्ने योजना छ, जुन नेपालमा पहिलो हुनेछ,’ उनले दाबी गरे, ‘तर त्यो काम शुरू गर्नको लागि उपयुक्त समय नै आएको छैन ।’ आफूले गरेको कामप्रति ‘वान हन्ड्रेड टेन’ प्रतिशत सन्तुष्ट छन् मनु ।
पैसा कमाउनुभन्दा पनि पेशाको सम्मानका लागि उनले हस्पिटालिटी रोजे र यसैलाई निरन्तरता दिँदैछन् । ‘व्यापार विस्तारको नाममा मैले अन्यत्र होटल खोल्दिनँ, यहाँ आउने पाहुनालाई सकेसम्म सन्तुष्ट बनाउँछु,’ उनले भने ।
ग्राहकलाई सुनाए कृष्ण–सुदामाको प्रसंग
मनुको होटलमा आउने अधिकांश ग्राहक खाना र उनको बोलीबाट प्रभावित छन् । ‘मनुराजासँग पाक कलामा जादु छ, साथै बोलीमा मिठास, त्यसैले काठमाडौं–पोखरा यात्रामा सधैं मेरो रोजाइमा गरिमा क्याफे नै पर्छ,’ निजी क्षेत्रको दूरसञ्चार प्रदायक कम्पनीमा कार्यरत प्रेम ऐरले भने ।
ग्राहकले खानाको प्रशंसा गरेपछि उनले महाभारतको एउटा प्रसंग सुनाए –
भगवान् श्रीकृष्णका साथी सुदामा एकदमै गरीब थिए । एकदिन सुदामा कृष्णलाई भेट्न जान लागेका थिए । साथी भेट्न जाँदा कोसेली लिएर जानुपर्ने तर सुदामाको घरमा कोसेली केही थिएन । सुदामाले आमासँग कृष्णलाई दिनको लागि कोसेली मागे । आमासँग केही थिएन तर केही नभएपछि आमाले सुदामालाई एक पोका चामलको कनिका दिइन् । कृष्णलाई कनिकाको कोसेली लिएर जानुपर्दा सुदामा खिन्न थिए । तैपनि आमाले दिएको कोसेली लिएर सुदामा कृष्णको घरमा पुगे ।
गोपिनीहरूसँग खेलिरहेका कृष्णलाई सुदामाले मन खिन्न बनाउँदै आमाले दिएको कोसेली दिए तर कृष्णले साथीले दिएको कनिकाको कोसेली स्वाद मानी–मानी खाए । जसले सुदामालाई निकै खुशी र दंग बनायो ।
यो प्रसंग सुनाउँदै मनुले पनि आफूले तयार पारेको परिकारमा ग्राहक सन्तुष्ट भएकोमा खुशी व्यक्त गरे ।
कुराको बिट मार्दै गर्दा आध्यात्मिक स्वभावमा मनुराजाले भागवत गीताको एउटा श्लोक सुनाए –
कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन
जसको अर्थ हुन्छ – हरेक मनुष्यसँग केवल कर्म गर्ने अधिकार छ तर कर्मको फलमा अधिकार छैन ।