
काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले कमल पोखरी पुनर्निर्माणका क्रममा राजनीति हाबी भएको बताएका हुन्।
नेवाः राष्ट्रिय पत्रकार दबू काठमाडौं जिल्ला शाखा कार्यालयको कार्यालय उद्घाटन गर्दै उनले उक्त कुरा बताएका थिए ।
विघटित संसदका सांसद गगन थापा लगायत स्थानीय जनतासँग पटक–पटक छलफल गरी डिजाइनलाई अन्तिम रुप दिई कमलपोखरी पुनर्निर्माणको काम अघि बढाएको भन्दै पुनर्निमार्णको धेरै काम सम्पन्न भएपछि अनावश्यक बखेडा झिकेर राजनीति गर्ने काम भएको उनले बताए ।
‘गगन थापाहरू कमल पोखरीलाई छठ पोखरी बनाउन चाहन्थेँ, मैले त्यसलाई सांस्कृतिक पोखरी बनाउन चाहेँ,’ शाक्यले भने, ‘काठमाडौं महानगरले गर्न खोजेको विकासको काममा राजनीतिक स्वार्थ राखेर अवरोध गर्दा समस्या हुने गरेको छ । कमलपोखरीमा पनि त्यहि गर्न खोजिँदैछ ।’
शाक्यले कमल पोखरीमा त्यही क्षेत्रका विघटित संसदका सांसद गगन थापाले अहिलेसम्म कति खर्च गरेका छन् त्यसको लिखित विवरण माग्दै पत्र पठाएको पनि जानकारी दिए । ‘यदि उनले सो विवरण दिन सक्नुभएन भने त्यहाँ खर्च भयो भनिएको रकम हिनामिना गरेको ठहरिने छ,’ शाक्यले भने, ‘उहाँ (गगन थापा) स्वयंले मलाई लिखित पत्र पठाई कमल पोखरीमा सांसद कोषबाट करोडौं रकम खर्च गरिसकेको भनी जानकारी दिएका कारण उहाँलाई लिखित पत्र नै पठाई कमल पोखरीमा उनले अहिलेसम्म गरेको खर्च विवरण पठाउन अनुरोध गरेको हुँ ।’
थापाले पटक–पटकका छलफलमा पनि त्यहाँ सांसद विकास कोष र नीजि स्रोतबाट तारवारलगायतका कार्य गरेको बताउनु भएको पनि शाक्यले जानकारी दिए ।
‘कमलपोखरीमा आफूले गरेको कामको विवरण उनले पेश गरे भने सबैलाई थाहा हुनेछ त्यहाँ अहिले होइन पहिला नै सिमेन्ट प्रयोग गरी निर्माण कार्य कसले गरेको रहेछ प्रष्ट हुन्छ,’ शाक्यले भने, ‘त्यहाँ बनाइएका सिँढीमा सिमेन्ट कसले प्रयोग गरेको रहेछ भन्ने कुरा पनि उहाँको विवरण आए पछि थाहा हुन्छ । यदि विवरण दिन सक्नुभएन भने उनले खर्च गरेको भनिएको करोडौं रकम हिनामिना गरेको हो कि भन्ने प्रश्न उठ्ने छ ।’
उनले गगन थापाले सबै विवरण दिएपछि छिट्टै कमलपोखरी परिसरमै पत्रकार सम्मेलन गरेर पोखरी पुनर्निर्माणबारे सबै जानकारी दिने पनि दोहोर्याए ।
उनले सम्पदा प्रेमीलाई पनि राजनीति आग्रह–पुर्वाहग्रह लिएर आन्दोलन नगर्न सुझाव दिए । ‘पुरातात्विक तथा धार्मिक महत्वका स्मारकहरूको संरक्षण गर्न महानगरपालिका सदैव तयार छ । म उहाँहरुलाई पनि यो अभियानमा हातेमालो गर्न आग्रह गर्दछु । तर, सम्पदा प्रेमीको आवरण ओढेर राजनीति नगर्न तपाईँहरूलाई सुझाव दिन्छु ।’
उनले एकतर्फी रुपमा आरोप लगाएर भावुकता प्रकट गर्ने कुरा क्षणिक भएको पनि बताए । ‘अहिले राजनीति गर्न सजिलो छ, सम्पदा प्रेमी भनेपछि जे गर्न पछि छुट पाउने अवस्था भइरहेको छ’ शाक्यले भने, ‘यसले विकास निर्माणमा अवरोध मात्रै गर्छ । कमल पोखरीको माटो दलेर बालुवाटार घेर्न जाने कुरा कतै मेल खाँदैन । कमलपोखरीको माटोको भावुकतासँग जोडेर राजनीति गर्ने कार्य सकारात्मक होइन ।’
रानी पोखरी पुनर्निर्माणका क्रममा पनि सम्पदाप्रेमी भन्नेहरूले महानगरपालिकालाई वदनाम गर्न अनावश्यक आरोप लगाउने प्रयास गरेको भन्दै आक्रोश व्यक्त गरे ।
‘रानी पोखरी घुम्न आउनेहरूका लागि त्यहीं छेउमा शौचालय बनाउँछु भन्दा मैले रानी पोखरी बेचेर खायो भन्नेहरूले अहिले त्यहीं शान्तिबाटिकामा रानी पोखरीको बार नै छुने गरी राखिएको शौचालय किन देखेन ?’ उनले प्रश्न गरे , ‘त्यो शौचालय कसले बनायो, कसले राख्न दियो, ठेक्का कसले दियो, त्यहाँको पैसा कहाँ जान्छ ? त्यसको खोजबिन गर्नु पर्ने कि नपर्ने ?’