
कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले मुलुकमा उत्पन्न गतिरोध अन्त्यका लागि निर्वाचन एक मात्र उपयुक्त विकल्प भएको बताएका छन् ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियूको सिरहा जिल्ला भेलालाई सम्बोधन गर्दै उनले मुलुकमा देखापरेका गतिरोधलाई संसद् पुनःस्थापनाले पनि निकास दिन नसक्ने भएकाले निर्वाचन नै उपयुक्त विकल्प भएको बताए ।
मन्त्री श्रेष्ठले जननिर्वाचित प्रधानमन्त्रीलाई काम गर्न नदिएपछि उत्पन्न भएको अहिलेको परिस्थितिलाई निर्वाचनले हल दिनसक्ने भएकाले ताजा जनादेशमा जान सबै राजनीतिक शक्तिहरू तयार हुनुपर्ने बताए ।
सरकार निर्धारित समयमै निर्वाचन गराएर मुलुकलाई निकास दिन तयार रहेको उल्लेख गर्दै उनले सडक आन्दोलनबाट मुलुकले निकास नपाउने भएकाले निर्वाचनमा जुट्न दलहरूसँग आग्रह गरे ।
नेकपाभित्रकै केही नेताहरुको स्वार्थका कारण मुलुक अनिर्णयको बन्दी बनेको आरोप लगाउँदै उनले प्रधानमन्त्री ओलीमाथि लगाइएका आरोप कपोकल्पित रहेको दाबी गरे ।
यसैबीच अनेरास्ववियूको भेलाले सुदन कुसियैतको अध्यक्षतामा ५१ सदस्यीय जिल्ला कमिटी घोषणा गरेको छ ।