०९ असार २०८३, मंगलबार

शुरूमै खोप लगाउन पाउँदाको खुसी

माघ १८, २०७७
शुरूमै खोप लगाउन पाउँदाको खुसी
तस्वीर सौजन्य : गोरखापत्र दैनिक

काठमाडौँ, माघ १८ गते । कोरोना भाइरसको महामारी सुरु भएको ठीक एक वर्षपछि नेपालमा कोरोनाविरुद्धको खोप सुरु गर्दा त्यसले खुसियाली छाएको छ । पहिलो चरणमा स्वास्थ्यकर्मी, सरसफाइकर्मी, अग्रपङ्क्तिमा खटिएका व्यक्तिलाई बुधबारबाट खोप लगाउन प्रारम्भ गरिएको छ । बुधबार नौ हजार ८४ जना, बिहीबार २८ हजार ७३२ जना र शुक्रबार ४६ हजार १९७ जनाले खोप लगाएका छन् ।

कोरोनाको खोप यति छिटो नेपालमा सुरु होला भनेर कसैलाई पत्यार थिएन तर खोप सेवा प्रारम्भ भएपछि यसप्रतिको विश्वास बढेको छ । साथै खोप लगाउन पाएकोमा स्वास्थ्यकर्मी खुसी देखिएका छन् । विभिन्न अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, सरसफाइकर्मी तथा एम्बुलेन्स चालकले यस महामारीबाट बच्ने अन्तिम उपाय भनेको नै खोप भएको प्रतिक्रिया दिएका छन् ।

ढुक्क होऔँ ः डा. सङ्गीता मिश्रा
निर्देशक, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल
यस अस्पताललाई कोरोनाविरुद्धको खोपका लागि जिम्मेवारी प्राप्त भएकोमा उत्साहित छौंँ । तीन हजार खोप प्राप्त भएको छ । पहिलो पटक सरकारले स्वास्थ्यकर्मी, सफाइकर्मी, अस्पतालमा कार्यरत तथा कोरोना महामारीमा पहिलो पङ्क्तिमा काम गर्नेलाई प्राथमिकतामा राखेको छ । अब छिट्टै सबै नागरिकका लागि खोप ल्याउने सरकारी प्रतिबद्धताअनुसार सबै नेपालीले कोरोनाविरुद्धको खोप लगाउन पाउनेमा ढुक्क होऔंँ ।

यो सफलता हो ः राजेशकुमार गुप्ता
सूचना अधिकारी, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु
नेपालमा कोरोना भित्रिइसकेपछि त्यसको परीक्षणका लागि हाम्रो ल्याब सक्षम थिएन । पहिलो व्यक्तिको स्वाब परीक्षण गर्न हङकङ पठाइएको थियो । हाल नेपालमा ७० भन्दा बढी स्थानमा परीक्षण हुन्छ । अहिले कोरोनाविरुद्धको खोप आइसकेको छ । मैले खोप लगाउँदा लगाएको ठाउँमा सामान्य दुखाइबाहेक अरू केही भएन । कतिपयलाई ज्वरो आउने, टाउको दुख्ने लगायतका समस्या आएको छ । यी सामान्य समस्या हुन् । नेपालमा यति छिट्टै खोप आउनु ठूलो सफलता हो ।

आशा जागेको छ ः इन्दिरा ढुङ्गेल
परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालसार्क
मुलुकमध्ये नेपालले पहिला कोरोना खोप पाएको छ । त्यसमा पनि परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा यस खोपको सेवा दिने अवसर पाउनु हाम्रोलागि सौभाग्य हो । मैले पनि खोप लगाएँ । स्वास्थ्यकर्मी, सफाइकर्मी र अन्य विभागमा कार्यरत कर्मचारीलाई खोप दिने काममा सहजकर्ताको भूमिकामा छु । यसबाट खुसी र आशा जागेको छ ।

बच्न खोप लगाएँ ः सम्झना भट्टराई
शहीद धर्मभक्त प्रत्यारोपण केन्द्र, भक्तपुर
पहिलो दिन अस्पतालमा केही स्वास्थ्यकर्मीले खोप लगाउनुभयो । दोस्रो दिन मैले खोप लगाएँ । पहिले खोप लगाएर विदेशमा स्वास्थ्यकर्मी तथा अन्य मानिसको मृत्यु भएको सुन्दा डर लागेको थियो । खोप नेपाल आइसकेपछि लगाउने वा नलगाउने द्विविधामा थिएँ । अन्य खोपले पनि केही व्यक्तिलाई असर गर्न सक्छ, शतप्रतिशत कहीँ हुँदैन । सामान्य असर गरे पनि कोरोनाबाट बच्न सकिन्छ भन्ने उद्देश्यले खोप लगाएँ । खोप लगाएको ठाउँमा सुन्निने, दुख्ने समस्या देखिए पनि जटिल समस्या छैन ।


कुनै समस्या छैन ः शान्ति पाण्डे
शहीद धर्मभक्त प्रत्यारोपण केन्द्र, भक्तपुर
नेपालमा कोरोनाले दुई हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । खोप लगाउन पाइन्छ भन्नेबित्तिकै एक किसिमले खुसी तथा अर्को किसिमले केही हुने हो कि भन्ने त्रास बढ्यो । खोप लगाइसकेपछि खोप लगाएको वरिपरि बिमिरा आउने समस्या भयो । खोप लगाइसकेपछि कोरोनाबाट बच्न सकिन्छ कि भन्ने आशा पलाएको छ ।

दङ्ग छौँ ः नवराज तामाङ
एम्बुलेन्स चालक
कोरोना सङ्क्रमण भएका गर्भवती महिलालाई उपचारका लागि अस्पतालमा पु¥याउँदै आएको छु । कोरोना पुष्टि भएको पहिलो बिरामीलाई मैले नै अस्पताल पु¥याएँ । पीपीए, भाइजर, ग्लोब, बुटलगायत सबै तयारी पूरा गरी बिरामी लिन गएँ । सुरुमा त सङ्क्रमणको डर लागेको थियो तर जब बिरामी एम्बुलेन्सम
अन्य अस्पतालमा उपचारका लागि लैजाने बिरामी कोरोना लगायतको अन्य रोग लागेका हुन्छन् भने परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा पु¥याउनुपर्ने बिरामीसँग भने उसको बच्चाको जीवनसमेत जोडिएकाले थप जिम्मेवारी हुन्छ । अहिले खोप आउँदा हामीलाई प्राथमिकतामा राखेर खोप लिने सुविधा पाएपछि दङ्ग छौँ ।

खुसी छौँ ः भक्त श्रेष्ठ, सरसफाइकर्मी
महामारीमा पनि सफाइको काम निरन्तर चल्यो । कोरोना छिटो सर्ने रोग हो रे, लागेपछि बाँचिँदैन भन्ने हल्ला थियो तर गरिरहेको कामबाट पछाडि हट्ने कुरा भएन । सङ्क्रमण भित्रिएपछि अस्पताल प्रशासनले जे परे पनि मिलेर सामना गरौंँला भनेर हाम्रो हौसला बढाउने काम भयो ।

ढुक्क भइयो ः इन्दिरा केसी सफाइकर्मी
मैले १७ वर्षदेखि सफाइको काम गरिरहेको छु । सबै जना डराउने गरी विश्वव्यापी महामारी आयो । सफाइको काम गर्दा पीपीए, पन्जा, बुट, भाइजरलगायत लगाउने, सम्भव भएसम्म पटक–पटक हात धुने, सेनिटाइजर लगाउने सबैखाले सुरक्षा उपाय अपनाइयो । पहिला–पहिला काम गरेर घर पुगेपछि सबै कपडा फेरेर नुहाएर छुट्टै कोठामा पनि बसँें । खोप लगाएपछि म ढुक्क भएँ ।

खोप लगाउन व्यस्त छु ः युवराज चापागाईं
खोप लगाउने व्यक्ति
तीनदेखि म खोप लगाउन व्यस्त छु । हामी बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म यस कार्यमा व्यस्त छौँ । अन्य समयमा म यस अस्पतालमा खोप शाखाको जिम्मेवारीमा छु तर यो नयाँ जिम्मेवारीमा हामी उत्साहित छौंँ । गोरखापत्र दैनिकमा सरोज ढुंङ्गेल र शिवा तामाङले खबर लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्