२८ जेठ २०८३, बिहीबार

संसद् पुनःस्थापनाले मात्र लोकतन्त्र र संविधान सही गतिमा आउँछ : नेता पौडेल

माघ १९, २०७७
संसद् पुनःस्थापनाले मात्र लोकतन्त्र र संविधान सही गतिमा आउँछ : नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीले मोही माग्ने ढुंग्रो लुकाउने गर्न नहुने बताएका छन् ।

कांग्रेसका विभिन्न भातृ संस्थाद्वारा सोमवार तनहुँमा आयोजित सभालाई सम्बोधन गर्दै उनले संसद् विघटनको घटनामा कांग्रेसले एकढिक्का भएर विरोधका आवाज राख्नुपर्ने बताए ।

‘संसद् विघटन असंवैधानिक छ भनेर कांग्रेसले भनिसकेकाले यसको उपचार पनि कांग्रेसले खुलेर भन्नुपर्छ, मोही माग्ने ढुंग्रो लुकाउने गर्न हँुदैन,’ उनले भने, ‘प्रतिनिधि सभाको पुनःस्थापना भएर मात्रै लोकतन्त्र र संविधान सही गतिमा आउँछ ।’

जनताले प्रतिनिधि सभालाई ५ वर्षका लागि चुनेकाले प्रतिनिधि सभाको म्याद ५ वर्ष नै हुनुपर्ने पौडेलले जिकिर गरे । ‘प्रतिनिधिसभा पुनःस्थापन भएपछि मात्रै कांग्रेसको मन्तव्य र गन्तव्य प्रस्ट हुन्छ,’ उनले भने, ‘कांग्रेसको मन्तव्य यो कार्य अवैधानिक हो भनेर भन्ने र गन्तव्य भनेको वैधानिक बनाउने नै हो ।’

वरिष्ठ नेता पौडेलले सर्वोच्च अदालतबाट संसद् पुनःस्थापना हुने विश्वास व्यक्त गरे । ‘सर्वोच्च अदालतले न्यायका पक्षमा फैसला गर्ने हुनाले कांग्रेस निर्णायक संघर्षमा पुगेको छैन, हामी निर्णायक संघर्षमा पुग्न नपरोस्,’ उनले भने, ‘अदालतप्रति आशा र विश्वास छ ।’ 

लोकतन्त्रको सिद्धान्तमाथि पटकपटक आक्रमण भइरहेको चर्चा गर्दै उनले नेताहरूको महत्त्वाकांक्षाका कारण संसद् भंग हुने गरेको इतिहास रहेको दाबी गरे । 

कार्यक्रममा नेपाली कांग्रेस तनहुँका कार्यवाहक सभापति जीतप्रकाश आले, राष्ट्रियसभा सदस्य प्रकाश पन्थ, शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङ, नेपाल महिला संघका सभापति पवित्रा पौडेल लगायतले अदालतले संसद् पुनःस्थापनाका पक्षमा फैसल गर्ने विश्वास व्यक्त गरे ।

salt training

कमेन्ट गर्नुहोस्