
आधुुनिक जीवनशैलीका कारण धेरै मानिस तनावमा बसिरहेका हुन्छन् । तनावले मानिसहरूलाई सफलता हासिल गर्न रोक्छ ।
यहाँ हामी तनाव घटाउने केही टिपहरू दिँदैछौं । त्यसलाई पालन गर्नुभएमा जीवन सुखद हुन्छ ।
व्यायाम
जति व्यस्त भए पनि व्यायाम गर्न नछुटाउनुस् । दिनदिनै मर्निङ वाक गर्नुस् । ध्यान र योगलाई नियमित दिनचर्या बनाउनुस् । यसले मन शान्त र खुशी हुनेछ । तनाव हराउनेछ ।
पूरा निद्रा
राति अबेरसम्म बसेर काम गर्ने बानी छोड्नुस् । निद्रा पूरा हुन पाएन भने झर्कोफर्को लाग्छ । राति कम्तीमा आठ घन्टा सुत्नुस् । भरपूर निद्राले थकान हटाउँछ र ससाना कुराले तनाव दिँदैन ।
प्रकृतिको सामीप्य
मन चिन्तित भएमा प्रकृतिको निकट रही समय बिताउने गर्नुस् । हरियोपरियो ठाउँमा जानुस् । वनजंगल, डाँडाकाँडातिर घुम्न जानुस् । घरमा पनि बोटबिरुवा गोडमेल गर्नुस् ।
हाँसोठट्टा
खुलेर हाँस्ने गरेमा पनि तनावबाट मुक्ति पाइन्छ । हाँस्दाखेरी शरीरले रोगसँग लड्ने क्षमता बढ्छ । आफू पनि हाँस्नुस् अनि अरूलाई पनि हँसाउनुस् । सकारात्मक सोच भएका र हँसमुख मानिसलाई मात्र साथी बनाउनुस् ।
परिवारसँग समय
एक्लै बस्नेहरूभन्दा परिवारसँग बस्नेहरू बढी खुशी हुन्छन् । त्यसैले परिवारसँग सकेसम्म धेरै समय बिताउने गर्नुस् । छुट्टीको दिन सँगै फिल्म हेर्ने, खानेकुरा बनाउने वा घुम्न जाने गर्नुस् । यसले तनाव हटाएर नयाँ ऊर्जा दिन्छ ।