जाडोमा रुघाखोकी र ज्वरो आउने जोखिम उच्च रहन्छ । त्यसबाट बच्नका लागि स्वस्थकर खानेकुरा खानुपर्ने हुन्छ ।
गोलभेंडा र गाजरको सुप खाने सल्लाह दिइन्छ । यसमा भिटामिन, क्याल्सियम, आइरन र एन्टीअक्सिडेन्ट गुण हुन्छन् । यसको सेवनले इम्युनिटी बढ्छ र रोगबाट बचाउँछ ।
यहाँ हामी सुपको रेसिपी दिँदैछौं ।
सामग्री
गोलभेंडा आधा किलो
गाजर एक पाउ
मरिच अलिकति
चिनी स्वाद अनुसार
नून स्वाद अनुसार
पानी तीन कप
सजावटका लागि
कोरेको गाजर
क्रीम
सुप बनाउने विधि
पहिला गाजर धोएर काट्नुस् ।
गोलभेंडा पनि धोएर काट्नुस् ।
प्यानमा एक कप पानी, नून, गाजर र गोलभेंडा राखेर उमाल्नुस् ।
एकचोटि भुलुक्क उम्लेपछि आगो घटाउनुस् र मज्जाले पकाउनुस् ।
पाकेपछि सेलाउन दिनुस् र ब्लेन्डरमा राखेर पिँध्नुस् ।
प्यानमा दुई कप पानी र गोलभेंडा गाजर मिश्रणलाई सानो आगोमा उमाल्नुस् ।
त्यसमा चिनी र मरिच हालेर १० मिनेट पकाउनुस् ।
सुप तयार भयो । त्यसलाई कचौरामा राखेर क्रीम र कोरेको गाजरले सजाएर पस्किनुस् ।