२१ जेठ २०८३, बिहीबार

काठमाडौंको सडकमा मध्यरातमा सेनाका बख्तरबन्द गाडीको प्रदर्शन [फोटो /भिडियो]

नेपाली सेनाले बख्तरबन्द गाडीहरु चक्रपथ परिक्रमा गराएको छ ।  

नेपाली सेनाले नियमित अभ्यास अन्तर्गत सोमवार राति १० बजे बाफलबाट स्वयम्भु, बनस्थली, बालाजु, सामाखु्शी, नारायण गोपाल चोक, चावहिल गौशाला, एयरपोर्ट हुँदै फेरि बाफल नै आएर बख्तरबन्द प्रर्दशन समाप्त गरेको हो । 

 नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोष बल्लभ पौडेलका अनुसार यस्ता खालमा अभ्यासहरू अघिल्लो वर्षमा पनि हुने गरेको थियो । सार्वजनिक रूपमा जानकारी नदिँदा नकारात्मक टिप्पणी हुने गरेकाले यसपालि जानकारी दिएको प्रवक्ता पौडेलले बताए । 

‘सेनाले ब्यारेकभित्र गरेको अभ्यासलाई अझ निखार्नको लागि सडकमा पनि अभ्यास गर्नेछ,’ सहायक रथी पौडेलले लोकान्तरसँग भने, ‘हामीले राति वा बिहानको समयमा सवारी जाम नहुने हिसाबले गर्न लागेका छौं ।’
माघ २१ गते बिहान काठमाडौंदेखि धुलिखेलसम्म सेनाको बख्तरबन्द गाडीहरू बाहिर निकाल्दैछ ।

नेपाली सेनाले सामाजिक सञ्जाल ट्विटरमा नियमित अभ्यासको योजना अनुसार बख्तरबन्द निकालिएको जनाएको छ । 

‘नेपाली सेनाको नियमित अभ्यास अनुसार माघ १९ गते राति बख्तरबन्द गाडीहरूले काठमाडौं चक्रपथको चक्कर लगाउने योजना रहेको । त्यसैगरी ८ वटै पृतना अन्तर्गतका मेकनाईज्ड युनिटहरूबाट माघ २१ गते देशका विभिन्न स्थानहरूमा बख्तरबन्द गाडीहरूको अभ्यास गर्ने योजना रहेको जानकारी गराउँँँदछौं,’ सेनाले सामाजिक सञ्जाल ट्विटरमा लेखेको थियो । 

देशमा राजनीतिक अन्योल भएको समयमा सेनाले निकाल्न लागेको बख्तरबन्दले के सन्देश दिन खोजेको  हो भन्ने खालको चर्चा हुन थालेको छ । ​

भिडियो हेर्नुहोस्

सोमवारै नेपाली सेना बख्तरबन्द बाहिर निकाल्दा सामाजिक सञ्जालहरूमा भने १६ वर्ष अगाडि तत्कालीन राजा ज्ञानेन्द्रले गरेको राजनीतिक ‘कु’ गरेको दिन भन्दै अनेकन टिप्पणीहरू गरेका छन् । 

तत्कालीन राजा ज्ञानेन्द्रले माघ १९ गतेकै दिन प्रधानमन्त्री शेरबहादुर देउवालाई असक्षम भएको भन्दै आफ्नो अध्यक्षतामा मन्त्रिपरिषद् गठनको घोषणा गरेका थिए । देशमा राजनीतिक अस्थिरता भएको समयमा सेनाले बख्तरबन्द निकाल्न थालेपछि नागरिकमा चासो देखिएको छ ।

फाेटाे भिडियाे : विश्वास खनाल


salt training

कमेन्ट गर्नुहोस्