
प्रधानमन्त्री एवं नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल लगायतका नेताले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर २ वर्ष प्रधानमन्त्रीको ज्ञारेन्टी गर्छौं भन्दै घुँडा टेकेको आरोप लगाएका छन् । उनले नेकपा प्रचण्ड–नेपाल समूहको मुकुण्डो खुइलिएको टिप्पणी समेत गरे ।
नेपाल भूमिहीन सुकुम्वासी संगठनले बुधवार काठमाडौंमा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै ओलीले कम्युनिस्ट सरकार ढालेर बाहिर क्रान्तिकारी कुरा गर्नेको मुकुण्डो खुइलिएको टिप्पणी गरेका हुन् ।
‘माधव नेपाल देउवाकोमा गएका थिए, अब २ वर्षको प्रधानमन्त्री तपाईं हो, लेखेर दिन्छौं, सही गरेर दिन्छौं, ल्याप्चे नै भयो भनेछन् । बाहिर निस्केर क्रान्तिको कुरा गरेछन्, कम्युनिस्ट सरकार फोर्ने, अन्त गएर घुँडा टेकेर प्रणाम गरेर प्रधानमन्त्री दिन्छु, ल्याप्चे लगाउँछु भनेर क्रान्तिकारिताको गफ दिने ?’ ओलीले भने, ‘उहाँहरू जे हो त्यही प्रकट हुँदैछ, मुकुण्डो खुइलियो ।’
यसअघि प्रचण्ड र माधव नेपालले प्रधानमन्त्रीको अफरसहित देउवालाई भेटेर प्रतिनिधि सभा पुनःस्थापनाको आन्दोलनमा लाग्न आग्रह गरेको समाचार बाहिरिएको थियो ।