२९ जेठ २०८३, शुक्रबार

मुख्यमन्त्रीका ज्वाइँलाई भूमिसम्बन्धी आयोगको जिल्ला अध्यक्ष बनाएकोमा चौतर्फी आलोचना

माघ २२, २०७७
मुख्यमन्त्रीका ज्वाइँलाई भूमिसम्बन्धी आयोगको जिल्ला अध्यक्ष बनाएकोमा चौतर्फी आलोचना

सुकुम्वासी समस्या बढी भएको जिल्लामध्ये पर्ने दाङमा भूमिसम्बन्धी समस्या समाधान आयोग जिल्ला अध्यक्षमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलका ज्वाइँ शिवकुमार आचार्यलाई मनोनित गरिएको छ । आचार्यलाई अध्यक्षमा मनोनित गरिएपछि मुख्यमन्त्री पोखरेलको चौतर्फी आलोचना भएको छ । 

सरकारले ७७ वटै जिल्लामा भूमिसम्बन्धी समस्या समाधान गरी भूमिहीन दलित र सुकुम्वासीलाई जग्गा उपलब्ध गराउन जिल्ला समिति गठन गरेको हो । 

तीन सदस्यीय समितिको अध्यक्षमा आचार्य चयन भएपछि मुख्यमन्त्री पोखरेल समेत विवादमा तानिएका हुन् । जसको विज्ञ सदस्यमा रेवन्त चौधरी र सदस्यमा हेमराज पुन मनोनित भएका छन् ।

शक्तिको आडमा आचार्यलाई नियुक्त गरिएको भन्दै प्रदेशवासीले सामाजिक सञ्जालदेखि सबै क्षेत्रमा तीव्र असन्तुष्टि व्यक्त गरेका छन् ।

तर, आचार्यले आफूलाई मुख्यमन्त्रीसँगको नातामा जोडेकोप्रति दुःख व्यक्त गरेका छन् ।

आचार्यले लोकान्तरसँग भने, ‘म मुुख्यमन्त्रीकी बहिनीलाई बिहे गर्नुभन्दा अगाडि नै राजनीति गरेर जेल जीवन बिताएको मान्छे हुँ । अहिले सरकारले भूमि आयोगको जिल्ला अध्यक्ष बनाएपछि मलाई नातावादसँग जोड्नु गतल हो । म कम्युनिस्ट हुँ । म नेकपाको प्रदेश कमिटी सदस्य हुँ ।’ 

आचार्यले थपे, ‘शंकर पोखरेल अखिलको अध्यक्ष हुँदा म केन्द्रीय सदस्य थिएँ । हाम्रो परिवार नै राजनीति लागेको हो । अष्टलक्ष्मी शाक्य अनेमसंघको अध्यक्ष हुँदा मेरी श्रीमती (मुख्यमन्त्रीकी बहिनी) मेनका पोखरेल सचिव भएकी हुन् । बहिनी भूमिगत राजनीतिमा समेत लागेका हुन् ।’ 

आचार्य अहिले काठमाडौंमा छन् । उनले शपथ ग्रहण गरेपछि जिल्लामा आएर कार्यविधि अनुसार काम गर्ने लोकान्तरलाई बताए । 

नेकपा दाङका नेता मेटमणि चौधरीले आचार्य भूमिसम्बन्धी ज्ञान नभएको व्यक्ति रहेको बताए । उनले लोकान्तरसँग भने, ‘यो नियुक्त मुख्यमन्त्रीकै पहलमा भएको हो । मुख्यमन्त्री परिवार र नातावादभन्दा बाहिर जान नसक्ने नेता हुन् । राम्रो नियुक्तिको पद आए आफन्त रोज्छन् ।’

चौधरीले थपे, ‘अहिले पार्टी विभाजनको मौकामा ज्वाइँलाई नियुक्त गर्न पहल गरे । मुख्यमन्त्रीको व्यक्तिवादी सोच छ ।’

मुख्यमन्त्री पोखरेलकी श्रीमती सुजिता शाक्य पनि विघटन भएको प्रतिनिधि सभामा समानुपातिक सांसद हुन् ।

अहिले भूमिसम्बन्धी समस्या समाधान आयोगको अध्यक्ष चितवनका देवी ज्ञवाली छन् । 

मुख्यमन्त्री पोखरेल र ज्ञवाली दुवै नेकपा अध्यक्ष केपी ओली निकट नेता हुन् । 

जिल्लामा नियुक्त भएका आयोगका पदाधिकारीको शपथ माघ २४ गते प्रधानमन्त्री कै उपस्थितिमा हुने तय भएको छ । 

दाङमा ३० हजार भूमिहीन र ३० हजार अव्यवस्थित बसोवासी रहेको नेकपा दाङ (प्रचण्ड–नेपाल समूह) का अध्यक्ष टीकाराम खड्का बताउँछन् । यस्तो बेलामा राज्यले राजनीतिक नियुक्ती गर्नु असंवैधानिक रहेको खड्काले बताए । 
खड्काले लोकान्तरसँग भने, ‘सरकारले उहाँलाई योग्य देख्यो । राज्यले यस्तो बेलामा नियुक्त गर्नु गलत हो भनेर हामी आन्दोलमा छौं । व्यक्तिभन्दा पनि हामी सरकारका कामविरुद्ध आन्दोलनमा होमिएकालाई व्यक्तिमाथि केन्द्रित भएर बस्ने अवस्था छैन ।’ 

भूमि समस्या समाधान आयोग रुपन्देहीको अध्यक्षमा बलबहादुर आचार्यलाई नियुक्त गरिएको छ । त्यस्तै विज्ञ सदस्यमा कृष्णबहादुर कुँवर र सदस्यमा गंगा कार्कीलाई चयन गरिएको छ ।

कपिलवस्तुमा कृष्णप्रसाद पौडेल, अब्दुल माबुखाँ र मञ्जु चौधरी, बर्दियामा भीमबहादुर केसी, नुतनकुमार चौधरी र भक्तबहादुर विक, प्युठानमा मोहनबहादुर जिसी, रामबहादुर केसी र विष्णुबहादुर केसी, गुल्मीमा टीकाराम ढकाल, शान्ता पोखरेल, कृष्ण घिमिरे नियुक्त भएका छन् । 

त्यस्तै अर्घाखाँचीमा कृष्णबहादुर भुसाल, तुलसीराम मिश्र र शिवकला विक, पाल्पामा एकप्रसाद भण्डारी, भोजराज पोखरेल, दुर्गादेवी राना, रोल्पामा प्रेमबहादुर घर्ती, कृष्णकुमारी गौतम र लोकेन्द्र घर्ती, रूकुम (पूर्व)मा सतमान पुन, गोपाल रेउले र केशकुमारी तुलाचन, बाँकेमा शान्ति ढकाल, तेजकुमार धिताल र गोपाल गिरी, नवलपरासी (वर्दघाट सुस्ता पश्चिम)मा विमला अर्याल, बद्री श्रेष्ठ र कृष्णप्रसाद पौडेल अध्यक्ष, विज्ञ र सदस्य मनोनयन भएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्