छायाँनाथ रारा नगरपालिकामा कांग्रेसका उम्मेदवार हरीजङ्ग शाही विजयी भएपछि निकालिएको विजय जुलुस ।
मुगु, ४ जेठ– मुगु जिल्लाको एकमात्र छायाँनाथ रारा नगरपालिकामा ७ वडा अध्यक्षसहित मेयर पदमा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका हरीजङ्ग शाही ३ हजार ५ सय ६० मत ल्याएर छायाँनाथ राराको मेयरमा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका जितबहादुर मल्लले ३ हजार ४ सय ४१ मत ल्याएका छन् । १ सय १९ मतअन्तले कांग्रेसका उम्मेदवार मेयरमा विजयी भएका छन् ।
उपमेयर पदमा नेकपा एमालेकी सुन्तला रोकाया ३ हजार २ सय २५ मतसहित विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका सुरबहादुर बुढाले २ हजार ९ सय ७० मतप्राप्त गरेका छन् ।
वडा अध्यक्ष पदमा कांग्रेस बाट ७, एमाले ५ र माओवादी केन्द्रका २ उम्मेदवार विजयी भएका छन् ।
वडा नम्बर ३, ४, ६, ८, १०, ११ र १३ मा कांग्रेस, १, २, ५, ७ र १४ एमाले तथा ९ र १२ माओवादी उम्मेदवारले वडाअध्यक्ष जितेका छन् ।
विजयी मेयर शाही जिल्ला स्वास्थ्य कार्यालय अन्तर्गत अहेव (अधिकृत छैटौं) स्थायी पदवाट राजीनामा गरी राजनीतिमा प्रवेश गरेका हुन् । नेपाली कांग्रेसको जिल्ला कार्यसमिति सदस्य हुन् । यस्तै उपमेयरमा विजयी भएकी एमाले उम्मेदवार रोकाया स्थायी शिक्षकबाट राजीनामा गरी राजनीतिमा होमिएकी हुन् ।
नगरपालिकाको मेयर र उपमेयर पदमा कांग्रेस र माओवादीबीच चुनावी तालमेल भएतापनी उपमेयरमा भने एमाले उम्मेदवार विजयी भए ।
यस्तै कार्मारोङ गाउँपालीकामा कांग्रेसका छिरीङ क्याप्ने लामा १ हजार १ सय ७० मत ल्याइ प्रमुखपदमा बिजयी भएका छन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका सोनाम छिरिङ लामा तामाङलले १ हजार २७ मत ल्याए ।
उपप्रमुखमा भने एमाले उम्मेदवार छिरीङ तामाङ १ हजार ६१ मत ल्याएर विजयी भएकी छन् । उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रका यूटोल तामाङले ९ सय १५ ल्याइन् । कार्मारोङ गाउँपालिकामा कांग्रेसले ४ वडा अध्यक्ष र एमालेले ५ वडा अध्यक्षमा जित हात पारेको छ ।
खत्याड गाउँपालीकाको अध्यक्षमा नेकपा एमालेका उब्जन बहादुर शाही बिजयी भएका छन् । उपाध्यक्षमा नेकपा एमालेकै जयनन्दा रावल विजयी भइन् । वडा अध्यक्षमा नेपाली कांगे्रसका ३ जना, एमालेका ४ र माओवादीका ३ जना उम्मेदवार विजयी भएका छन् ।
१ नगरपालिका र तीन गाउँपालिका रहेको मुगुको सोरु गाउँपालिकाको नतिजा आउन बाँकी छ । जारी मतगणनाको पछिल्लो परिणमअनुसा त्यहाँपनि नेपाली कांग्रेसका उम्मेदवार लोकजंग शाहीले अग्रता लिएका छन् ।